News Portal

  • नेकपाका दुई पक्षबीच बर्दिबासमा झडप, प्रदेश सदस्यको टाउको फुट्यो

    रातोपोस्ट संवाददाता
    ७८५ पटक

    काठमाडौं । शपथ ग्रहणमा कुरा नमिल्दा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई पक्षबीच बर्दिबासमा झडप भएको छ । मंगलबार प्रदेश नम्बर दुई कमिटीले बारा, पर्साबाहेकको जिल्ला कमिटीको शपथ ग्रहण कार्यक्रम महोत्तरीको बर्दिबासमा राखेको थियो ।

    तर, माधवकुमार नेपाल पक्षले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले एकलौटी ढङ्गले जिल्ला कमिटी निर्माण गरेको भन्दै आपत्ति प्रकट गरेपछि शपथ ग्रहण कार्यक्रम झडपमा परिणत भएको हो ।

    झडपमा प्रदेश कमिटीका सदस्य देवनाथ यादवको टाउकोमा चोट लागेको छ भने अन्य केही घाइते भएको बताइएको छ ।

    दुई पक्षबीच अहिले पनि विवाद जारी छ ।

    विवादको चुरो

    घेराबन्दीमा परेको र पार्टीको पद्धतिअनुरूप काम गर्न नपाएको भन्दै केही दिनअघि प्रदेश अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिएका थिए । तर पार्टी सचिवालयले साहको राजीनामा स्वीकृत गरेन ।

    स्रोतले दिएको जानकारीअनुसार वरिष्ठ नेता माधव नेपाल र पार्टीका नेता मातृका यादव मिलेर घेराबन्दी गरेको, कामै गर्न नदिएको उनको आरोप थियो ।

    विवादकै कारण जिल्ला कमिटीको शपथ ग्रहण पनि दुईपटक स्थगित भइसकेको छ । र, यो तेस्रोपटक डाकिएको थियो ।

    मंगलबार शपथको तयारी भए पनि नेता नेपाल पक्ष र मातृका पक्षले दुई–चारदिनदेखि नै जिल्लामा भेला, बैठक गरेको र त्यसैले झडपको पृष्ठभूमि तयार गरेको साह पक्षको भनाइ छ ।

    यता प्रदेश सचिव सुमनराज प्याकुरेलले भने सामान्य विवाद भएको बताए । “दुई ठूला पार्टी एकीकरणको प्रक्रियामा छन् । विवाद हुन्छ, मिल्छ । अहिले पनि भएको त्यही हो, यसलाई ठूलो नबनाऔँ,” उनले भने ।

    उनले कुटाकुट नभएको र आफूविरुद्ध नाराबाजी भएको बताए । “विधानतः १६५ भन्दा बढी सदस्य राख्न पाइँदैन । माओवादीको चार हजारको त केन्द्रीय कमिटी नै थियो । तलका जिल्ला कमिटीको आकार पनि झण्डै तेत्रै छ । सबैलाई समेट्दा वडा तहसम्म पूर्वमाओवादी केन्द्रले नै पुग्छ । विवाद त हुने नै भयो,” उनले भने ।

    बर्दिवास सेवा समितिको हलमा हुलहुज्जत हुन थालेपछि प्रहरी परिचालन गरिएको छ । उत्तेजित कार्यकर्ताहरूले प्रदेश नेतृत्वविरुद्ध नाराबाजी गरेको त्यहाँ रहेका सञ्चारकर्मीले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)