News Portal

आज इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा

रातोपोस्ट संवाददाता
९५६ पटक

काठमाडौं । काठमाडौ उपत्यकामा आज इन्द्रजात्रा मनाइँदैछ । वर्षा र सहकालका देवता इन्द्रको सम्मानमा इन्द्रजात्रा मनाइन्छ । यस अवसरमा हनुमाढोकास्थित ऐतिहासिक दरबारक्षेत्र परिसरमा रहेका गणेश,कुमारी र भैरवको दर्शन र पूजाआजा गर्ने परम्परा छ ।

इन्द्रजात्राको अवसरमा हनुमानढोका दरबारक्षेत्रको प्राङ्गणमा गणेश, कुमारी तथा भैरवको रथ निकाली दर्शनपूजन गर्ने गरिन्छ । यस दिन राष्ट्रपति ,प्रधानमन्त्रीलगायत राज्यका विशिष्ट पदाधिकारी तथा कूटनीतिक नियोगका प्रतिनिधिले हनुमानढोका गई इन्द्रजात्राको अवलोकन गर्नुका साथै गणेश ,कुमारी भैरवको दर्शन पूजा गरी प्रसाद ग्रहण गर्ने चलन छ ।

इन्द्रजात्रामा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको स्वरुपमा पुलुकिसी नृत्य ,मजिपा लाखेनृत्य,दीपदान दशावतार दर्शन लगाएतका साँस्कृतिक जात्राहरु नगरका विभिन्न भागबाट निकाली हनुमानढोका पुर्याउने परम्परा छ ।  भाद्रशुक्लपक्षको व्दितीयामा कालभैरवको मन्दिर पछाडि इन्द्रध्वजोत्थान गरी शुरुहुने इन्द्रजात्रा आश्विनकृष्णपक्षको चतुदर्शीसम्म गरी ८ दिन मनाइन्छ । परम्परा अनुसार काभ्रेको नालास्थित वनमा तान्त्रिक विधिले मन्तरेर छाडिएको बोकाले छोएको रुख ढालेर लिङ्गो बनाई काठमाडौं ल्याइन्छ ।

काभ्रेदखि काठमाडौसम्मको बाटामा लिङ्गो मानिसले तानेर हनुमानढोका ल्याइपुर्याएपछि यसलाई सजाएर पूजा गरी शुभ साइतमा ठड्याउने चलन छ । लोकमा अब पानी पुग्यो जलवर्षा रोक्नु भनेर देवराज इन्द्रलाई सन्देश पठाउन इन्द्रध्वजोत्थान गरिएको कथन छ । साथै देवराज इन्द्र आफ्नी आमा वसुन्धरालाई मनपर्ने पारिजातको फूल टिप्न यस नगरीमा आउँदा पक्राउ परेका थिए । पुत्रलाई छुटाउन यहाँ आएकी आमा वसुन्धराले छोरालाई छुटाई लोकवासीलाई अन्नवालीवृद्धिका लागि कुहिरो दिएर गएकी हुनाले इन्द्रजात्रापछि काठमाडौमा कुहिरो लाग्ने गरेको पनि बताइन्छ ।

साथै हनुमानढोका दरबारक्षेत्रमा तत्कालीन राजप्रासाद रहेको र राजालाई इन्द्रका रुपमा प्रतिष्ठित गरिने हुँदा राज्यशक्तिको सम्मान र शान बढाउन इन्द्रध्वजोत्थानको परम्परा शुरु भएको पनि उल्लेख छ । इन्द्रजात्राका अवसरमा हनुमानढोका परिसरमा गणेश,कुमारी इन्द्र,कालभैरव श्वेतभैरव, तथा आकाशभैरवको विशेष पूजाआजा गरिन्छ । काठमाडौ उपत्यकामा इन्द्रजात्रा शुरु भएपछि नेपाली समाजमा मनाइने महान् पर्व दशैं आएको अनुभूति हुने सर्वसाधारण बताउँछन् । इन्द्रजात्राका दिन आज काठमाडौ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।।

प्रतिकृया दिनुहोस्