News Portal

हल्दिबारीका सबै सामुदायिक विद्यालयमा कम्प्यूटर शिक्षा

रातोपोस्ट संवाददाता
१०२५ पटक

झापा । शिक्षालाई आधुनिक प्रविधि सुहाउँदो बनाउने उद्देश्यले झापाको हल्दिबारी गाउँपालिकाले सबै सामुदायिक विद्यालयमा कम्प्यूटर शिक्षा अनिवार्य गरेको छ ।

नेपाल सरकारको रु. २ करोड ३१ लाख ९६ हजार अनुदानमा गाउँपालिकाले कम्प्युटर शिक्षाको पूर्वाधार स्थापना गरी पठनपाठन सुरु गरेको हो । १७ वटा सामुदायिक विद्यालयका लागि रु. १ करोड ६० लाख खर्च गरेर एसर कम्पनीका २६० वटा ब्रान्डेड डेस्कटप कम्प्यूटर खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे बताए ।

झापाका १५ स्थानीय तहमध्ये सबै सामुदायिक विद्यालयमा अनिवार्य कम्प्यूटर शिक्षा लागू गर्नेमा हल्दिबारी पहिलो भएको अधिकृत घिमिरेको दाबी छ । उनका अनुसार सबै विद्यालयमा वाइफाइसहितको व्यवस्थित ल्याब निर्माण भइसकेको छ । कम्प्यूटर राख्नका लागि १३० वटा टेबुल र २६० वटा कुर्सी संघीय सांसद राजेन्द्र लिङ्देनको सांसद पूर्वाधार विकास कोषको बजेटबाट खरिद गरिएको उनले बताए ।

गाउँपालिकाले विद्यार्थी संख्या हेरेर कक्षा ५ सम्मका विद्यालयलाई ५ देखि ७ वटासम्म र कक्षा ८ देखि १२ सम्मका विद्यालयहरुलाई ३० देखि ४० वटासम्म कम्प्युटर प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन बताए । कम्प्यूटर शिक्षाका लागि गाउँपालिकाको कोषबाटै शिक्षकको व्यवस्था गरिएको उनको भनाई छ ।

सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घटिरहेको अवस्थामा लागू भएको कम्प्यूटर शिक्षाले अभिभावक तथा विद्यार्थीलाई आकर्षित गर्ने र प्रविधिमा विद्यार्थीहरु दक्ष बन्ने अपेक्षा गरिएको हल्दिबारी माविका प्रधानाध्यापक टंक पाख्रिन बताउँछन् ।

प्रतिकृया दिनुहोस्