News Portal

असोज १३ गते झापा स्पोर्टस् अवार्ड, को को परे मनोनयनमा

रातोपोस्ट संवाददाता
९३९ पटक

झापा । नेपाल खेलकुद पत्रकार मञ्च, झापाले तेस्रो झापा स्पोर्टस् अवार्डका लागि मनोनयनमा परेका १२ जना खेलाडी तथा प्रतिभाको नाम सार्वजनिक गरेको छ । मञ्चले शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर ४ वटा विधामा प्रत्येकमा ३ जना खेलाडी तथा प्रतिभा मनोनयन गरेको हो ।

अन्य दुई विधामा भने छनौट समितिले प्रतिभाको लोकप्रियताको आधारमा एक–एक जनालाई सिधैं छनौट गर्ने जनाएको छ । छनौटमा परेकालाई असोज १३ गते सोमबार बिर्तामोडमा आयोजित समारोहका बीच अवार्ड प्रदान गरिने जानकारी दिइयो ।

झापा स्पोर्ट अवार्ड २०७५ तथा प्रतिभा छनौट समितिका अनुसार वर्ष खेलाडी पुरुषतर्फ उमेश राई शारीरिक सुगठन, राम दाहाल शारीरिक सुगठन र नवयुग श्रेष्ठ फुटबल रहेका छन् । वर्ष खेलाडी महिला तर्फ एस्तर राई कराते, अञ्जिला तुम्वाम्फो सुब्बा फुटबल र विनिता बुढाथोकी भलिबल रहेका छन् । उनीहरुलाई पुरुष खेलाडीका लागि एक–एक थान मोटरसाइकल र महिला खेलाडीका लागि एक–एक थान स्कुटर प्रदान गरिने भएको छ ।

वर्ष उत्कृष्ट युवा खेलाडीका रुपमा अप्सरी बेगम क्रिकेट, छिरिङ गुरुङ फुटबल र अमिता गिरी ब्याडमिटन रहेका छन् । त्यस्तै उत्कृष्ट प्रशिक्षकका रुपमा हरि खड्का फुटबल, डम्बर बहादुर लिम्बू बक्सिङ र योगेश चाम्लिङ कराते रहेका छन् । युवा खेलाडी र उत्कृष्ट प्रशिक्षणलाई नगद २५ हजार र ट्रफि प्रदान गरिने भएको छ ।

पिपुल्स च्वाइट अन्तर्गत एक खेलाडीलाई २५ हजार र लाइफ टाइम एचिभ्मेनट अवार्डसहित एकजनालाई ३५ हजार रुपैयाँ प्रदान गरिने आयोजक समितिका अध्यक्ष हिमालचन्द्र खरेलले जानकारी दिए । अवार्डलाई स्थापनाकालदेखि नै एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले आफ्ना भाइ पूर्व फुटबलर स्व. आशिषविक्रम नेम्वाङको स्मृतिमा एकलाख रुपैयाँ प्रदान गर्दै आएका छन् ।

त्यस्तै सहारा नेपाल साकोसले दुई लाख रुपैयाँ प्रदान गर्दै आएको र अग्रज समाजसेवी तथा झापा ११ का अध्यक्ष जलकुमार गुरुङले दोस्रो स्पोर्ट अवार्डमा आमा स्व. राजकुमारी गुरुङ, बुबा स्व. बलबहादुर गुरुङ र भाउजु स्व. तिलमाया गुरुङको स्मृतिमा एक थान स्कुटर र मोटरसाइकल प्रदान गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

अवार्डमा २०७५ सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका प्रशिक्षकलाई सहभागी गराइएको नेपाल खेलकुद पत्रकार मञ्चका निवर्तमान अध्यक्ष रमेश समदर्शीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्