News Portal

हाम्रो गोल्डकप असोज ११ देखी, झापा ११ सहित ८ टिम खेल्ने

रातोपोस्ट संवाददाता
६२७ पटक

झापा । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा असोज ११ गतेदेखि हुने हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपमा सहभागी हुने टिमको टुङ्गो लागेको छ ।

आयोजक जायोन स्पोर्टस् क्लबले सोमबार विर्तामोडमा पत्रकार सम्मेलन गर्दै गोल्डकपमा सहभागी टिम तथा खेल तालिका सार्वजनिक गरेको हो । गोल्डकपमा २ भारतीय टिमसँगै नेपालका ४ वटा ए डिभिजन क्लब र मोफसलका २ क्लबबीच भिडन्त हुनेछ ।

आयोजक क्लबका सचिव महेन्द्र पाण्डेका अनुसार विभागीय टिम त्रिभुवन आर्मी, नेपाल पुलिस, संकटा, थ्री स्टार क्लब, झापा ११ र गोर्खा ब्वाइज रुपन्देही गोल्डकपमा सहभागी छन् । त्यस्तै, सिक्किम आक्रामक र असामको मोलवे फुटबल क्लब विदेशी टिमका रुपमा रहेका छन् ।

गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ, बाकी पाँच दिनभित्र सम्पूर्ण तयारी पूरा हुने आयोजकका प्रवक्ता अविनाश राईले बताए ।

प्रतियोगिता सम्पन्न गर्न करिब ८५ लाख लाग्ने अनुमान रहेको छ । फुटबल प्रेमी दर्शकलाई प्रतियोगितामा ब्यवस्थित रुपमा बसेर हेर्न करिब दश हजार दर्शक अट्ने बाँसको प्यारापिट बनाइएको पनि आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

झापा जिल्ला फुटबल संघको प्राबिधिक सहयोग रहने प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा बिर्तामोडको अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था रहेको छ ।
गोल्डकप विजेता टोलीले १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजार पाउनेछ । प्रत्येक खेलको म्यान अफ दी म्याचले १० हजार नगद पाउँदा फाइनल खेलको म्यान अफ दी म्याच खेलाडीले २५ हजार पाउने आयोजकका प्रवक्ता राईले बताए ।

उनका अनुसार विधागत तर्फ ७ वटा पुरस्कारको व्यवस्था गरिएको छ । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीले जनही १५र१५ हजार पाउने उनले जानकारी दिए । म्यान अफ दी टुर्नामेन्टलाई पनि पुरस्कारको व्यवस्था गरिए पनि पुरस्कारबारे केही खुलाइएको छैन ।

क्लबका सदस्य गौरीमान राईले सञ्चालन गरेको कार्यक्रममा सल्लाहकार हिमाल किराती र अन्नपूर्ण साकोसका प्रतिनिधि सन्तोष दाहालले गोल्डकपका बारेमा बोलेका थिए ।

प्रतिकृया दिनुहोस्