News Portal

मेस्सीले जिते फिफा वर्ष खेलाडीकाे उपाधि

रातोपोस्ट संवाददाता
६५७ पटक

काठमाण्डौ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको उत्कृष्ट वर्ष पुरुष खेलाडीको उपाधि लियोनेल मेस्सीले जितेका छन् ।

इटालीको मिलानमा आयोजित कार्यक्रममा वर्षभरी गरेको प्रदर्शनका आधारमा फिफाले विभिन्न विधाका उत्कृष्ट ‘द बेस्ट’ लाई अवार्ड प्रदान गरेको हो । द बेस्ट पुरुष खेलाडीको उपाधि जित्नका लागि बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड मेस्सीले लिभरपुलका डच डिफेन्डर भर्जिल भान डाइक र युभेन्टसका क्रिष्टियानो रोनाल्डोलाई पछि पारेका थिए ।

उनले बार्सिलोनाबाट अघिल्लो सिजन ला लिगाको उपाधि जितेका थिए । यस्तै, च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता बन्दै युरोपियन गोल्डेन बुट समेत जितेका थिए ।

यस्तै, महिला तर्फको उत्कृष्ट खेलाडीको अवार्ड अमेरिकी खेलाडी मेगन रोपिनोले जितिन् ।  उनले ओलम्पिक लियनोबाट खेल्ने इंग्लिस खेलाडी लुसी ब्रोन्ज र ओर्लाण्डो प्राइडबाट खेल्ने अमेरिकी खेलाडी एलेक्स मोर्गन पार्दै अवार्ड जितेकी हुन् । अमेरिकालाई हालै सम्पन्न महिला विश्वकपको उपाधि जिताउन उनको भुमिका महत्वपूर्ण थियो ।

पुरुष प्रशिक्षक तर्फको उपाधि लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले जितेका छन् । उनले म्यान्चेष्टर सिटीका पेप गार्दियोला र टोटनह्यामका माउरिसियो पोचेटिनोलाई पछि पार्दै वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड जित्न सफल भए । उनले १४ वर्षपछि पहिलो पटक लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताएका थिए ।

पुरस्कार ग्रहण गर्दै प्रशिक्षक क्लोपले क्लब प्रति आभार ब्यक्त गरे । ‘उत्कृष्ट खेलाडी किनेकोमा क्लबका मालिकलाई धन्यवाद र च्याम्पियन्स लिग जितेकामा टिमलाई बधाई,’ क्लोपले भने ।

महिला टिमको प्रशिक्षकको उपाधि अमेरिकी प्रशिक्षक लिज इलिसले जितिन् । उनले इंग्ल्याण्ड राष्ट्रिय टिमका प्रशिक्षक फिल नेभिल्ले र नेदरल्याण्ड राष्ट्रिय टिमकी प्रशिक्षक सारिना विगम्यानलाई पछि पारेकी थिइन् । उनले अमेरिकालाई दुई पटक महिला विश्वकपको उपाधि जिताउन सफल भएकी थिइन् ।

वर्षको उत्कृष्ट गोलकिपरको उपाधि लिभरपुलका ब्राजिलियन गोलकिपर एलिसनले जिते । उनले म्यानचेस्टर सिटीका ब्राजिलियन गोलकिपर एडरसन र बार्सिलोनाका जर्मन गोलकिपर मार्क एन्द्रे टेर स्टेगेनलाई पछि पारेका थिए ।

यस्तै, महिला तर्फको वर्षको उत्कृष्ट गोलकिपरको अवार्ड आर्सनलकी डच गोलकिपर सारी भ्यान भिनिनडाल पाइन् । उनले फ्रेन्च क्लब पिएसजीबाट खेल्ने चिलियन गोलकिपर क्रिष्टिन इन्डलर र चेल्सीकी स्वीडिस गोलकिपर हेड्भिग लिन्डाहल र लाई पछि पारेकी थिइन् । भ्यान भिनिनडालले आफूले जितेको अवार्ड आमा, वुवा, बहिनी र डच टिमलाई समर्पित गरिन् ।

यो वर्षको पुस्कास अवार्डको मनोनयनमा परेका बार्सिलोना फरवार्ड लियोनल मेस्सी र हुवान फर्नाण्डो क्वीन्टेरोको गोललाई फिक्का सावित गर्दै ज्सोरीको गोलले पुस्कास अवार्ड पाएको हो । उनले १६ फेब्रुअरीमा उत्कृष्ट एक्रेब्याटिक भलि प्रहार गोलमा परिणत गरेका थिए ।

प्रतिकृया दिनुहोस्