News Portal

तेश्रो झापा स्पोर्टस् अवार्डको छिनोफानो आज हुँदै

रातोपोस्ट संवाददाता
१०४५ पटक

झापा । खेल क्षेत्रमा लागेका तथा खेलप्रेमीबीच प्रतिक्षित तेश्रो झापा स्पोर्टस् अवार्ड २०७५ को छिनोफानो आज हुँदैछ ।
खेल क्षेत्रमा लागेका व्यक्तित्व र विभिन्न खेलसँग आवद्ध खेलाडीलाई प्रोत्साहन गर्नका लागि विगत ३ वर्षदेखि नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) झापाले अवार्ड गर्दै आएको हो ।

साविकको मेची अञ्चलका खेलाडी र खेलकर्मीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजना गरिँदै आएको झापा स्पोर्टस अवार्ड २०७५ को मनोनयनमा परेका खेलाडी र प्रशिक्षकको नाम यसअघि नै बिर्तामोडमा सार्वजनिक गरिसकिएको भए पनि अवार्ड कुन खेल विधाका खेलाडीले पाउने भन्ने आज साँझ आदर्श ब्यांक्वेटमा छिनोफानो हुनेछ ।

विशेष गरेर २०७५ सालको खेलकुद गतिविधि र खेलाडीले प्राप्त गरेको उपलब्धिलाई मूल्यांकन गर्दै यस पटक उत्कृष्ट वर्ष खेलाडी पुरुष र उत्कृष्ट वर्ष खेलाडी महिला को बन्ने कौतुहलता खेल जगत र खेलाडीमाझ चुलिएको छ । त्यस्तै, वर्ष उत्कृष्ट खेलाडी, युवा, त्यस्तै प्रशिक्षक, पिपुल्स च्वाइज र लाइफ टाइम एचिभमेन्टको अवार्ड पनि आजै हुनेछ ।

अवार्डको तेश्रो संस्करणमा यसपटक झापाबाट सात र इलामका पाँच जना मनोनयनमा परेका छन् । जसमा इलामबाट चार जना खेलाडी र एक जना प्रशिक्षक परेका छन् । मनोनयनमा इलामबाट पुरुष बर्ष खेलाडीतर्फ फुटबलका नवयुग श्रेष्ठ, महिला बर्ष खेलाडीतर्फ फुटबलकी एन्जिला तुम्वापो सुब्बा र भलिबलकी विनिता बुढाथोकी र युवा बर्ष खेलाडीमा फुटबलमा छिरिङ गुरुङ परेका हुन् । प्रशिक्षकतर्फ कराते विधामा योगेश चाम्लिङ राई परेका छन् ।

नवयुग गत संस्करणको पुरुष बर्ष खेलाडी समेत हुन् । यता एन्जिला गत संस्करणमा महिला बर्ष खेलाडीको रुपमा मनोनयमा परेकी थिइन् । विनिता, छिरिङ र योगेश पहिलो पटक अवार्डको मनोयनमा परेका हुन् । नवयुगले अवार्डको लागि झापाका उमेश राई (शारीरिक सुगठन), राम दाहाल (शारीरिक सुगठन) संग प्रतिस्पर्धा गर्नेछन् ।

एन्जिलाले इलामकै भलिबल खेलाडी विनिता र झापाकी कराते खेलाडी एस्तर राईसंग प्रतिस्पर्धा गर्नेछिन् । एस्तर तीन वटै संस्करणमा मनोयनमा पर्ने एक मात्र खेलाडी हुन् । युवा बर्ष खेलाडीतर्फ छिरिङले झापाकी क्रिकेटर अप्सरी बेगम र ब्याडमिन्टनकी अमिता गिरीसंग अवार्डको लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रशिक्षक विधामा योगेशले महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्का र बक्सिङका डम्बर लिम्बुसंग प्रतिस्पर्धा गर्नेछन् । वर्ष खेलाडी (पुरुष)लाई एक थान मोटरसाइकल, वर्ष खेलाडी (महिला)लाई एक थान स्कुटर, वर्ष खेलाडी (युवा)लाई नगद २५ हजार र वर्ष उत्कृष्ट प्रशिक्षकलाई नगद २५ हजार र ट्रफी प्रदान गरिने अवार्ड संयोजक बुद्ध तामाङले बताए ।

मञ्चका अध्यक्ष हिमाल खरेलका पिपुल्स च्वाइज र लाइफ टाइम्स अचिभमेन्ट अवार्डका विजेताबारे कार्यक्रम स्थलमै सिधै घोषणा गरिनेछ । उनीहरुले क्रमशः नगद २५ हजार र ३५ हजार रुपैयाँ पाउनेछन् ।

अवार्डलाई स्थापना कालदेखि नै एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आफ्ना भाइ पूर्वफुटबलर स्वर्गीय आशिषविक्रम नेम्वाङको स्मृतिमा एक लाख रुपैयाँ प्रदान गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्