
काठमाडाैँ। चीनले राष्ट्रपति सी जिनपिङको नेपाल र भारत भ्रमणको मिति सार्वजनिक गरेको छ ।
चिनियां विदेशमन्त्रालयले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै सीको भ्रमणबारे औपचारिक जानकारी दिएको हो ।
चिनियां विदेशमन्त्रालयका प्रवक्ता हुव चुनिङका अनुसार राष्ट्रपति सीले असोज २५ देखी २६ सम्म भारत र नेपालको भ्रमण गर्ने कार्यक्रम छ । यता, परराष्ट्रमन्त्रालयले समेत प्रेस विज्ञप्ती जारी गर्दै चिनिंया राष्ट्रपति सी को नेपाल भ्रमणको पुष्टि गरेको छ ।
चिनियां राष्ट्रपति असोज २४ मा भारतको चेन्नई पुग्ने र त्यसपछि २५ शनिबारका दिन सिधै काठमाडौं आइपुग्ने कार्यक्रम छ । नेपाल र भारत दुवै देशमा एक –एक रात बिताएपछि असोज २६ मा वेइजिङ फर्कनेछन् ।
सीको भ्रमणको बेला नेपाल र चीनबीच धेरै परियोजनामा सम्झौता गर्ने कार्यक्रम छ । सरकारले उनको भ्रमणको भव्य तयारी गरेको छ ।
नेपाल भ्रमणको क्रममा चिनियां राष्ट्रपति सी ले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायतसंग भेटवार्ता गर्ने कार्यक्रम छ ।
चिनियाँ राष्ट्रपति सीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल जाने कार्यक्रम समेत छ ।