News Portal

कारागार भित्रबाट स्नातकोत्तर पास गदै – मेरिना

कृष्णसिंह लाेथ्याल
१४६२ पटक

काठमाडौं। सामान्य मानिसलाई कैद सजाय भनेको यातना हो भन्ने लाग्छ ,यस्तो लाग्नु स्वाभाविक पनि हो ।

चारैतिर काँडेतारले घेरिएको घर प्रहरीले चौविसै घण्टा डिउटी गर्ने ठाउँ  प्रसाशनले चाहेको बेला भन्दा अरुवेला भेट्नै नमिल्ने , यो दृष्य र भोगाई जो कोहीका लागि यातना गृह लाग्छ नै ।

तर, सामान्य मानिसको सोचाइ भन्दा कारागार भित्रको संसार भने फरक छ । विभिन्न अपराध गरेर अपराध बराबरको सजाय काटिरहेका कैदीबन्दीको भविष्य हेरेर कारागार भित्रै पढ्ने विद्यालयको व्यवस्था देखि विभिन्न सीपमूलक तालिम समेत हुने गरेको छ ।

यसको एउटा उदाहरण हुन, २२ जेठ २०६६ मा अनामनगरका १९ वर्षकी ख्याति श्रेष्ठ हत्यामा संलग्न अभियोगमा २० वर्ष जेल जीवन भुक्तान गरिरहेकी मेरिना शाक्य ।

उनी ख्यातिको हत्या हुँदा १७ वर्षकी थिइन् । अहिले २६ वर्षकी भइन् । २०६६ सालको एसएलसी दिएर बसेकी मेरिना रिजल्ट आउँदासम्म प्रहरीले पक्राउ गरिसकेको थियो ।

ख्यातिलाई सोह्रखुट्टेका बिरेन श्रेष्ठले अपहरणपछि हत्या गरेको थिए । हत्याका सहयोगी थिइन् मेरिना । त्यही अभियोगमा अदालतको फैसलाले २० बर्षे जेल जीवन बिताइरहेकी मेरिना अहिले सुन्धारा कारागारको महिला विद्यालयकी हेड शिक्षिका हुन् ।

एसएलसी पछि जेल सजाय भुक्तान गरिरहेकी मेरिनाले जेलभित्रैबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर (मास्टर डिग्री) पास गरेकी छिन् ।

सुन्धाराका कैदीबन्दीका नजरमा मेरिनाको जीवन काँडेतार भित्र फक्रिएको सून्दर फूल हो । उनी अहिले जेलमा हेडमास्टको भूमिकामा जेलका २ सय भन्दा वढी वालवालिका र महिलालाई शिक्षा दिइरहेकी छिन् ।

आफूले गरेको अपराधको सजाय काटेर जेल मुक्त हुँदा उनको परिचय जेलकी हेड मास्टर हुनेछ भने उनीसँग एमबिएसको प्रमाणपत्र हातमा हुनेछ ।

मेरिनाजस्तै विभिन्न अपराधमा सुन्धारा कारागारभित्र जेल भुक्तान गरिरहेका ३ हजार एकसय कैदीमध्ये जगन्नाथ माध्यमिक विद्यालयमा करिब पाँच सयजना पढिरहेका छन् ।

कारागार भित्र रहेको सो स्कुलकी हेडमास्टर भने मेरिना रहेको कारागारका सहायक जेलर गोकर्ण खनालले जानकारी दिए ।

चालु शैक्षिक शत्रमा कक्षा ११ मा ६६ जना भर्ना भएका छन् । अघिल्लो शैक्षिक शत्रमा ५५ जनाले कक्षा १२ को परीक्षा पास गरेको खनालको भनाइ छ ।

‘सजाय भोगिरहेका कैदीहरु कैद भुक्तान गरेर छुट्दा उनीहरुको बाँकी जीवन सार्थक होस् भन्ने हिसाबले पढाईको अलवा विभिन्न सीपमूलक तालिम समेत गर्ने गरेका छौ,’ खनालले भने ।

उनका अनुसार काराकार भित्रको महिला र पुरुष गरी छुट्टाछुट्टै विद्यालयका हेड मास्टर फरक फरक छन् । बिद्यालयको छात्रा तर्फको हेड मेरिना हुन् भने छात्र तर्फका हेड शिक्षक भने पुरूष नै छन् ।

स्कुलमा ११ जना शिक्षक रहेको खनालको भनाइ छ । उनीहरुलाई सरकारले नै शिक्षकले पाउने न्यूनतम सुविधासहित कैदीबन्दीलाई पढाउने शिक्षक तोकेको उनको भनाइ छ ।

कैदीबन्दी विभिन्न काममा संलग्न हुँदा कारागार प्रशासनलाई पनि व्यवस्थापन गर्न सजिलो हुने खनालको भनाइ छ । प्रशासनले सकेसम्म उनीहरुलाई पढाइ वा काममा व्यस्त हुने वातावरणको व्यवस्था मिलाउने गरेको छ ।

कारागारमा कैदीबन्दी विद्यालय तहमा मात्रै नभइ कलेज तहमा समेत अध्ययनरत छन् । जेलका बिद्यार्थीका लागि कक्षा ११, १२ को राष्ट्रिय परीक्षा बोर्डले र स्नातक तथा स्नातकोत्तर तहमा त्रिभुवन विश्वविद्यालयले परीक्षाको व्यवस्था मिलाउने गरेको छ ।

वार्षिक दुई महिना कैद मिनाहा

कारागार भित्रका शिक्षक, नाइके र कारखानामा काम गर्ने कैदीलाई कागारार नियावली अनुसार नै वार्षिक दुई महिना कैद सजाय मिनाहा हुने व्यवस्था छ ।

कैद मिनाहा हुने भएपछि बाहिर जेजस्तो अपराध गरेको भएपनि कारागार भित्र भने उनीहरु सुध्रिन खोज्ने गरेको पाइएकोे सहायक जेलर खनालको भनाइ छ । हाल सुन्धारा कारागार भित्र स्कुलका अलावा कारखानासमेत छ । कारखानामा एक सय ७० जना कार्यरत छन् ।

उनीहरुले टोपी, सिरक, डसना र तन्ना बनाउने गरेको खनालको भनाइ छ । अन्य कैदीहरुले समेत विभिन्न घरायसी सामग्री उत्पादन गर्ने गरेका छन् ।

अन्य कैदीहरुले बनाउने सामग्रीमा सबैभन्दा राम्रो उत्पादन हुने बस्नका लागि बनाइने मुढा रहेको जेलर खनालको भनाइ छ । मुढा नेपालको बजारको साथै चीनसम्म निर्यात हुने गरेको कारागारले जनाएको छ ।

प्रतिकृया दिनुहोस्