News Portal

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

रातोपोस्ट संवाददाता
८४६ पटक

हेटौँडा। थाहा नगरपालिकाको ५ नम्बर वडा कार्यालय भवनमा अज्ञात समूहले आगो लगाएको छ । आइतबार राति पौन १२ बजेतिर कार्यालयमा आगजनी भएको हो । सानो फाखेलनजिक आरनडाँडामा रहेको वडा कार्यालय भवनमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । कार्यालयको ढोकामा लगाइएको ताल्चा फुटाएर तोडफोडसहित आगजनी भएको वडासदस्य चमेली वाइबाले जानकारी दिइन् ।

वडासदस्य वाइबाका अनुसार कार्यालयको अतिथि कक्षमा सबैभन्दा बढी क्षति पुगेको छ । त्यहाँ पेट्रोलियम पदार्थ छर्किएर आगो लगाइएको छ । ‘आगजनीका कारण भवनको झ्यालका चौकोस, कागजपत्र जलेर ध्वस्त भएका छन्,’ ‘स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिन सफल भए पनि कागजातहरू पूरै जलेको छ ।’

करिब १४ लाख लागतमा निर्माण गरिएको सो भवनमा गत वर्षको मंसिरबाट वडा कार्यालय सञ्चालन गरिएको थियो । आगजनीको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन । तर, आगजनीमा संलग्न रहेको आशंकामा प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेमा स्थानीय चार छन् भने एकजना कैलालीनिवासी छन् । प्रहरीले उनीहरूको पहिचान भने खुलाएको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्