News Portal

  • टाइब्रेकरमा पराजित गर्दै चर्च ब्वाइज युनाइटेड सेमीफाइनलमा प्रवेश

    रातोपोस्ट संवाददाता
    ६८३ पटक

    झापा । गोर्खा ब्वाइज स्पोर्टस क्लब बुटबललाई टाइब्रेकरमा पराजित गर्दै काठमाडौँको चर्च ब्वाइज युनाइटेड झापामा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिहीबार भएको अन्तिम क्वाटरफाइनल खेलमा ४–२ गोलले पराजित गर्दै गोर्खा ब्वाइजले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित ८० मिनेटको खेलमा दुवै टोलीले समान १–१ गोल गरेका थिए ।

    पहिलो हाफ गोलरहित बराबरी खेलेको दुवै टोलीका लागि दोस्रो हाफमा गोल भएको थियो । गोलको खाता भने चर्च ब्वाइजले खोलेको हो । दोस्रो हाफको २१औँ मिनेटमा चर्च ब्वाइजका कप्तान सन्तोष न्यौपानेले गोल गरे ।

    चर्च ब्वाइजका एलन मगरले मिलाइदिएको लङ पासमा गोर्खा ब्वाइजका गोलरक्षक सुजित गुरुङलाई बिट गर्दै सन्तोष न्यौपानले गोल गरेका हुन् । तर, चर्च ब्वाइजको यो खुसी २ मिनेट टिक्न सकेन । लगत्तै गोर्खा ब्वाइजका रुमेश बाँस्तोलाले गोल गरेर खेललाई बराबरीमा ल्याए । विपक्षी गोलपोस्ट नजिक पुगेका उनले सहजै गोल गरेका थिए ।

    यसअघि चर्च ब्वाइजले थुप्रै अवसर खेर फालेको थियो । प्रतिस्पर्धात्मक खेलमा चर्च ब्वाइजका कैलाश बस्नेतको प्रहार गोर्खा ब्वाइजका गोलरक्षक सुजितले उत्कृष्ट बचाउ गरेका थिए । त्यस्तै, दोस्रो हाफको १३औँ मिनेटमा चर्च ब्वाइजका सुनिल खड्काले रित्ता पोस्टमा गोल गर्न सकेनन् भने कप्तान सन्तोषको कर्नर प्रहारमा पाल्साङ लामाको हेड थोरै माथिबाट बाहिरिएको थियो ।

    गोर्खा ब्वाइजका दिपक राईले खेलको ३२औँ मिनेटमा गोल गर्ने अवसर गुमाएका थिए । विपक्षी गोलरक्षक विनय श्रेष्ठसँगको वान भर्सेज वानमा दिपक गोल गर्न चुकेका थिए । निर्धारित समयमा खेलको निर्णय नभएपछि टाइब्रेकर रोजिएको थियो । जसमा चर्च ब्वाइजका उमेश राई, राजेन्द्र रावल, कैलाश बस्नेत र पाल्साङ लामाको प्रहार गोलमा परिणत भएको थियो ।

    गोर्खा ब्वाइजका तर्फबाट रुपेश केसी, दिपक राईको प्रहारमात्र गोलमा परिणत भएको थियो भने बुद्ध चेम्जोङ र मनोज श्रेष्ठको प्रहार चर्च ब्वाइजका गोलरक्षक विनय श्रेष्ठले बचाउ गरेका थिए । टाइब्रेकरमा उत्कृष्ट प्रदर्शन गरेका चर्च ब्वाइजका गोलरक्षक विनय श्रेष्ठ खेलको म्यान अफ दी म्याच घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।

    १० वटा टिम सहभागी गोल्डकपमा शुक्रबार त्रिभुवन आर्मी क्लब र पाहुना टोली सिक्किम आक्रमण एफसीबीच पहिलो सेमिफाइनल खेल हुनेछ । गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजारसहित ट्रफी पाउनेछ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)