News Portal

  • अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपमा पुलिसलाई हराउँदै चर्च ब्वाइज फाइनल

    रातोपोस्ट संवाददाता
    ४२१ पटक

    झापा । उपाधिको दाबेदार नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड यहाँ जारी अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

    उपाधि नजिक पुगेको चर्च ब्वाइजले १-० गोलको नतिजाबाट पुलिसको चुनौती समाप्त पारेको हो । शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा चर्च ब्वाइजका तर्फबाट पहिलो हाफमा निर्णायक गोल भएको थियो ।

    पहिलो हाफमै अग्रता लिने अवसर पुलिसले गुमाएको थियो । खेलको २३औँ मिनेटमा पुलिसले पेनाल्टी सुटको अवसर पाएको थियो । वान भर्सेज वानमा चर्च ब्वाइजका कप्तान विष्णु सुनुवारले पुलिसका सुमन लामालाई तानेर लडाएपछि पेनाल्टी पाएको थियो ।

    तर, पेनाल्टी सुटमा सुमनकै प्रहारलाई चर्च ब्वाइजका गोलरक्षक विनय श्रेष्ठले उत्कृष्ट बचाउ गरेपछि पुलिसको दुर्भाग्य सुरुवात भएको थियो । त्यसको ३ मिनेटपछि खेलमा चर्च ब्वाइज अग्रता बनायो ।

    खेलको २६औँ मिनेटमा सुनिल खड्काले गोल गरेर चर्च ब्वाइजलाई अग्रता दिलाए । उसका लागि भुवन बस्नेतको हेडरलाई पुलिसका गोलरक्षक शत्रुधन चौधरीले भली गरेर बचाउने प्रयास गर्दा भएको रिबाउन्ड बललाई सुनिल खड्काले गोलपोस्टको दिशा दिएका थिए ।

    खेलको ५४औँ मिनेटमा पुलिस १० खेलाडीमा समेटिएको थियो । वान भर्सेज वानमा चर्च ब्वाइजका भुवन बस्नेतलाई लडाएपछि पुलिसका अन्जन राईलाई मुख्य निर्णायक प्रकाश श्रेष्ठले रातो कार्ड देखाएर मैदान बाहिर पठाएका थिए । रातो कार्ड प्रतियोगिताकै पहिलो हो ।

    खेलमा दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरेका थिए । पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा अधिकांश प्रहार गोलमा परिणत हुन सकेन ।

    खेलको म्यान अफ दी म्याच निर्णायक गोलकर्ता चर्च ब्वाइजका सुनिल खड्का घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।

    १० वटा टिम सहभागी गोल्डकपमा सोमबार त्रिुभवन आर्मी क्लबले चर्च ब्वाइजसँग फाइनल खेलमा भिड्नेछ । गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजारसहित ट्रफी पाउनेछ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)