
काठमाडौं । पाँच वर्षमुनिका बालबालिकाहरुमा हुने मृत्युमा नेपालमा तीन प्रतिशत निमोनियाका कारण हुने गरेको पाइन्छ । सन् २०१७ मा विश्वभरमा आठ लाख बालबालिकाको मृत्यु निमोनियाको कारणले भएको छ । नेपालमा पाँच वर्ष मुनीका बालबालिका करिब ३० लाख छन् । जसमा १७ लाख बालबालिकाहरुलाई श्वासप्रश्वासको समस्यालगायत निमोनियाको समस्या देखिने स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले बताए ।
“निमोनिया पाँच वर्षमुनिका बालबालिकाको मृत्यु हुने प्रमुख कारण मानिन्छ,” उनले भने, “विभिन्न अस्पतालमा निमोनिया भएका बिरामी एक हजार दुई सय जना भर्ना भएका छन् । जसमा तीन सय बालबालिकाहरुको निमोनियाको कारण मृत्यु भएको छ ।”
एकजना बाल–बालिकामा निमोनियाका कारण १ सय १६ डलर खर्च हुने गरेको पाइन्छ । विश्व स्वास्थ्य संगठनकाअनुसार कम आय भएका देशहरुका करिब ४८ प्रतिशत बालबालिकाहरुको मृत्यु निमोनियाका कारण हुने गरेको जनाएको छ । सरकारले ११ खोपमा चार अर्ब खर्च गर्ने गरेको छ । सन् २०३० सम्ममा विश्वभरी एक करोड १० लाख बालबालिकाको मृत्यु हुने अनुमान गरिएको छ ।
सन् २०१७ को तथ्यायंक अनुसार विश्वभर पाँच वर्षमुनिका बालबालिकाहरुको १५ प्रतिशत मत्युको प्रमुख कारण निमोनिया रहेको छ । जसमा आठ लाख आठ हजार ६ सय ९४ जना बालबालिकाहरु रहेको बताइन्छ ।
बाल रोग विशेषज्ञ डा. गणेश राईले नेपालमा बाल मृत्यदुरको प्रमखु कारणमा निमोनिया देखिने गरेको बताए । “पाँच वर्षमुनिका बालबालिकालाई यो बढी हुने गरेको पाइएको छ,” उनले भने, “यसका लक्षण खोकी लाग्ने, छिटोछिटो श्वास फेर्ने, ज्वरो आउने, कोखा हान्ने आदि हुन्छ । यस्ता समस्या देखिए तुरुन्त जचाउने, नियमित खोप दिने गर्नुपर्छ । ”
भिटामिनको औषधि दिएको खण्डमा ३० प्रतिशत निमोनिमयाको जोखिम कम हुने उनको सुझाव छ ।
लक्षण
१.चाँडो–चाँडो श्वास फेर्ने,
२ खोकी लाग्ने,
३. कोखा हान्ने (श्वास फेर्दा छाती र करङको भाग धस्सिने)
४. श्वास फेर्न गाह्रो हुने,
५. दुध चुस्न नसक्ने आदि
उपचार
१. बच्चालाई जन्मेको ६ महिनासम्म स्तनपान गराउने
२. नियमित खोपहरु लगाउने ।
३. हात नधोइकनै बच्चालाई समात्ने र अंगालो हाल्ने काम गर्नुहुँदैन ।
४. शुद्ध खानेपानी तथा सरसफाईमा ध्यान दिने ।
५. धुम्रपान नगर्ने, घरभित्र धुवाँ कम गर्ने र वातावरण स्वच्छ राख्ने ।
६. झोलिलो खानेकुरा बढी खान दिने ।
७. न्यानो राख्ने र चिल्लो खाद्य पदार्थ नदिने ।
८. नाक सफा गरिदिने, नुन, अदुवा, कागती मिसाएको पानी खुवाउनुपर्छ । ज्वरोका लागि उमेर अनुसार मात्रा मिलाएर सिटामोल खुवाउनुपर्छ । एक वर्ष मुनिकालाई विशेषतः आमाको दूध खुवाइराख्नुपर्छ ।