News Portal

  • प्रकाश चन्द भन्छन् : सिएमसीको होस्टेलमा प्रहरीले नै पेस्तोल राख्यो

    रातोपोस्ट संवाददाता
    १२०५ पटक

    चितवन : चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक प्रकाश चन्दले चितवन मेडिकल कलेजको होस्टेलमा प्रहरीले नै पेस्तोल राखेको दाबी गरेका छन्।

    उनले आइतवार विज्ञप्ति निकाल्दै प्रहरी-प्रशासन मिलेर होस्टलमा हतियार राखेको दाबी गरेका हुन्। चन्दले यो प्रकरणमा विद्यार्थीलाई फसाउन खोजिएको जनाउँदै सरकारले मेडिकल माफियाको स्वार्थमा फसेर विद्यार्थी र अभिभावकको घाँछी रेटेको पनि उल्लेख गरेका छन्।

    ‘राज्य विद्यार्थीलाई न्याय दिनुको साटो आज डरलाग्दो षड्यन्त्रसहित विद्यार्थी, अभिभावक र जनताविरुद्ध मेडिकल माफियाको संरक्षणका खातिर आफ्नो घिनलाग्दो नाङ्गो हस्तक्षेपमा उत्रेको छ’, उनले भनेका छन्,’यस्तो घिनलाग्दो षड्यन्त्रको भन्डाफोर गर्दै प्रतिकार गर्न र मेडिकल माफियालाई जरैबाट उखेलेर फाल्दै सर्वसुलभ मूल्यमा चिकित्सा शिक्षाबाट सबै जनताका छोराछोरी डाक्टर बन्‍ने सपना साकार पार्न अपिल गर्न चाहन्छु।’

    चन्दले सरकारले समृद्धिका गफ गरिरहँदा मेडिकल शिक्षा र स्वास्थ्य सेवा दिनानुदिन भयावह र कहालीलाग्दो अवस्थाबाट गुज्रिरहेको बताएका छन्। ‘कम्युनिस्ट भनिने दुईतिहाइको सरकार कहिले समाजवाद उन्मुख भन्छ त कहिले सुखी नेपाली समृद्ध नेपालको ढोङ पिट्छ’, उनले अगाडि भनेका छन्, ‘तर यहाँ दिनदाहडै निर्मला बलात्कृत हुन्छिन्, दिनदाहडै सस्तो एप्रोनलगायत विद्यार्थी कुटिन्छन्, बन्धक बनाइन्छन्।’

    चन्दले मेडिकल शिक्षा लिइरहेका हजारौँ विद्यार्थीले चिकित्सा शिक्षा सङ्घर्ष समिति बनाएरै मेडिकल माफिया, भ्रष्ट र दलालविरुद्ध संघर्ष गरिरहेको ३ महिनाभन्दा बढी हुँदा पनि सरकारले नसुनेको उनले बताए।

    ‘डा. गोविन्द केसी १७ औँ पटकसम्म जीवन-मरणको अनशन बसिसकेका छन्’, उनले भनेका छन्, ‘सङ्घर्षका क्रममा विद्यार्थीलाई कहिले प्रहरी प्रशासन लगाएर कुटियो, धम्की दिइयो त कहिले भारतीय गुन्डाहरूको प्रयोग गरी मरणासन्‍न हुनेगरी कुटियो।’

    चन्दले सरकारले मेडिकलसम्बन्धी शिक्षा नीति बनाएर लागु गर्न नसकेको भन्दै आक्रोश पोखे। ‘सरकार आज मेडिकल माफियाको अगाडि लम्पसार परेको छ । चुनावमा लिएको पैसाका कारण सरकारका जिम्मेवार व्यक्तिहरू मेडिकल माफियाका अगाडि रोइकराइ गरिरहेका छन्’, उनले भनेका छन्, ‘राज्य नै माफियाले चलाएको छ र राज्य नै आज यो सङ्घर्षविरुद्ध, विद्यार्थीविरुद्ध, अभिभावकविरुद्ध  षड्यन्त्र गर्न तयार छ र गरिरहेको छ।’

    प्रहरी प्रशासनलाई माफियाले राज्यमार्फत आफ्नो अनुकूलतामा निमुखा जनतालाई दमन गर्ने, फसाउने, दबाउने साधनका रूपमा प्रयोग गरेको दाबी उनले गरे।

    ‘चितवन मेडिकल कलेजमा प्रहरी प्रशासनले माफियाको इसारामा विद्यार्थी र माफियाविरुद्धको सङ्घर्ष समाप्त पार्न गरेको छ’, उनले अगाडि भनेका छन्, ‘कैलाशनगरमा रहेको सीएमसीको होस्टलमा बिहानबाट कलेजका कर्मचारी अरुण कोइराला र प्रिन्सिपल ममता तिवारी घुमिरहेका थिए । सँगै प्रहरी पनि बर्दी र सादा पोसाकमा थिए । त्यहाँ रहेका अन्य सादा पोसाकका प्रहरीले केही सामान राखेर फोटो खिचिरहेका थिए। त्यति देखेपछि म अर्को बाटोबाट बाहिर निस्किएँ। केही समयपछि होस्टलमा हतियार भेटियो भन्‍ने समाचार बाहिर ल्याइयो।’

    उनले हतियार राखेर विद्यार्थीलाई फसाउने षड्यन्त्र चिरेर छाड्ने उल्लेख गरेका छन्। ‘यस्तो घिनलाग्दो षड्यन्त्रको भन्डाफोर गर्दै प्रतिकार गर्न र मेडिकल माफियालाई जरैबाट उखेलेर फाल्दै सर्वसुलभ मूल्यमा चिकित्सा शिक्षा हासिल गर्ने र सबै जनताका छोराछोरी डाक्टर बन्ने सपना साकार पार्न सबै विद्यार्थी, युवा, बुद्धिजीवी, पत्रकार, स्वास्थ्यकर्मी र राष्ट्रसेवक कर्मचारीहरूमा अपिल गर्छु’, उनले भनेका छन्। थाहा खबर

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)