News Portal

लागु औषधका तीन कारोवारी पक्राउ

रातोपोस्ट संवाददाता
१०८३ पटक

 दमक । केहीदिन अघि पक्राउ परेका लागु औषधका कारोवारीहरुलाई झापा जिल्ला प्रहरी कार्यालयले बिहीबार सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय दमकमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।

दमक र गौरादहबाट ठूलो परिमाणमा प्रतिबन्धित लागु औषधसहित तीनजना कारोवारीलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुको साथबाट करिब ५ सय ७० ग्राम खैरो हेरोइनलगायत प्रतिबन्धित लागु औषध बरामद गरिएको झापा जिल्ला प्रहरी प्रमुख दिनेशराज मैनालीले बताए ।

बरामद गरिएका लागु औषध जिल्लामा हालसम्मकै सबैभन्दा ठूलो परिमाणको भएको प्रहरीको दाबी छ । प्रतिबन्धित लागु औषधका कारोवारी गौरादह ३ का ३२ वर्षीय सुनिल बराल र भारत मुरसीदावाद घर भएका २७ वर्षीय टुटुल भनिने रिन्टु शेखलाई प्रहरीले सार्वजनिक गरेको हो । दुई साताको अवधिमा दमकमा दुई र गौरादहबाट तीन जना लागु औषधका कारोवारीलाई विशेष सुराकीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भारतीय सीमावर्ती क्षेत्र गौरीगञ्ज नाका हुँदै लागु औषध भित्र्याउन लागेको अवस्थामा अभियुक्तहरु पक्राउ परेका प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार गत कात्तिक २५ गते गौरादह ३ स्थित धोविनिया चौकबाट गौरादह ३ का ३२ वर्षीय सुनिल बराल परेका हुन् ।

हर्लिक्सको बट्टामा लुकाईछिपाई राखिएको ३५२ .३१ मिलिग्राम खैरो हेरोइन, बा ८१ प ६२४० नम्बरको स्कुटर र बा.३ च.९२५५ नम्बरको कारसहित उनी पक्राउ परेका बताइएको छ । यसैगरी, गत कात्तिक २५ गते दमक ४ स्थित भान्जा होटल एण्ड लजबाट भारत मुरसीदावाद घर भएका २७ वर्षीय टुटुल भनिने रिन्टु शेखलाई शरीरभित्र प्लाष्टिकमा पोको पारेर लुकाईछिपाई राखिएको २ सय १७ ग्राम प्रतिबन्धित खैरो हेरोइन पक्राउ गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यस्तै, गत कात्तिक १३ गते दमक ८ का पुण्यबहादुर श्रेष्ठलाई पाउरोटीको झोलामा पाउरोटीभित्र खाँदेर राखेको अवस्थामा १८ एम्पुल, १८ थान फेनारगन र ट्याग नभएको १८ एम्पुल गरी ५४ एम्पुल प्रतिबन्धित लागु औषधसहित पक्राउ गरिएको उनले जानकारी दिए । पक्राउ परेका अभियुक्तहरु विरुद्ध दमक प्रहरीले मुद्धा दर्ता गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।

प्रतिकृया दिनुहोस्