
झापा। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) ले वृद्धवृद्धाको मानमर्दन हुने अभिव्यक्ति दिएको भन्दै काँकरभिट्टाका ज्येष्ठ नागरिकले शुक्रबार मौन रुपमा आपत्ति प्रकट गरेका छन् ।
कास्कीमा बुधबार आयोजित चुनावी प्रचारका क्रममा प्रचण्डले ज्येष्ठ नागरिकको भावनामाथि ठेस पुग्ने शब्द प्रयोग गरेको भन्दै सो घटनाप्रति उनीहरुले आपत्ति जनाएका हुन् । उक्त घटनाले सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट सर्वत्र चर्चा पाएपछि स्वतस्फूर्त रुपमा मेची किनारमा उभिएर स्थानीय वयोवृद्धले प्लेकार्ड बोकेर सांकेतिक रुपमा मौन विरोध गरेका छन् ।
‘एकदिन सबै वृद्ध हुन्छन्, तपाईं पनि एकदिन वृद्ध हुनुहुनेछ, वृद्धको नगर अपमान, वृद्धवृद्धालाई अपमान किन ?, क. प्रचण्ड के तिमी अजम्बरी हौ ?, सक्छौ भने वृद्धलाई सम्मान गर, सक्दैनौ भने अपमान पनि नगर’ लगायत नारा लेखिएका प्लेकार्ड उनीहरुले बोकेका थिए ।
‘हामी चर्को स्वरमा बोल्न सक्दैनौं, आन्दोलन गर्न पनि सक्दैनौं’ विरोध प्रदर्शनको शैली बारेको जिज्ञासामा मेची डाँडाका एक वृद्धले भने–‘प्रचण्डको बोलीले हामी दुखी छौं, वृद्ध जति सबै उस्तै हौं, पछि सबै वृद्ध नै त हुने हुन्, चुनाव जित्नकै लागि किन यस्तो गर्नुपर्र्यो र ?’ प्रचण्डले सार्वजनिक रुपमै ज्येष्ठ नागरिकलाई होच्याउँदै खिल्ली उडाउने गरी भाषण गरेपछि खप्न नसकेर त्यस घटनाको विरोध गर्नुपरेको सहभागीहरुको साझा भनाई थियो ।
महाकालीका वृद्धमाथि अन्याय भइरहँदा मेचीका वयोवृद्धलाई सह्य नहुने तर्क गर्दै अत्याचार गरिएका वृद्धको मनमा परेको चोटमा सांकेतिक विरोधमार्फत मलमपट्टी लगाउन खोजिएको उनीहरुको धारणा थियो । ज्येष्ठ नागरिकका प्रतिनिधि पात्र रहेका कास्की २ का कांग्रेस उम्मेद्वार खेमराज पौडेललाई देवघाट जाने उमेरमा सांसद्को उम्मेद्वार बनाइएको भन्ने प्रचण्डको अभिव्यक्ति विरुद्ध उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।
बुधबार दिउँसो नेकपाका अध्यक्ष प्रचण्डले कांग्रेस उम्मेद्वार पौडेललाई वृद्धाश्रम जाने उमेरमा भोट माग्न हिँडेको भनेर टिप्पणी गरेपछि उनी ज्येष्ठ नागरिकले आलोचना गर्न सुरु गरेका छन् । उप निर्वाचनको अन्तिम चुनावी सभामा पोखरामा कांग्रेसका उम्मेद्वार पौडेलप्रति लक्षित गर्दै प्रचण्डले देवघाट जाने समयको मानिसलाई उम्मेद्वार बनाएको अभिव्यक्ति दिएका थिए ।
सो घटनापछि देशका विभिन्न स्थानमा ज्येष्ठ नागरिकहरुले प्रदर्शन गर्दै आएका छन् । वृद्धवृद्धालाई मतका रुपमा मात्र प्रयोग गर्दै आइएको र खिल्ली उडाउने शब्द प्रयोग गरिएको भन्दै रुष्ट बनेका ज्येष्ठ नागरिकहरु प्रदर्शनका क्रममा आन्दोलनकारीहरुले’ तिमि कहिल्यै वृद्ध हुँदैनौ ?’ भनी प्रश्न तेर्स्याउन थालेका छन् ।