News Portal

आज उपनिर्वाचनः यी स्थानमा हुँदैछ मतदान

रातोपोस्ट संवाददाता
५५४ पटक

काठमाडौं । १ प्रतिनिधिसभा सदस्य, ३ प्रदेशसभा सदस्य, १ उपमहानगरपालिका प्रमुख, ३ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष र अरु वडा अध्यक्षका लागि आज उपनिर्वाचन सुरु भएको छ ।  पर्यटनमन्त्री समेत रहेका कास्की–२ का सांसद रवीन्द्र अधिकारीको ताप्लेजुङको पाथीभरामा हेलिकोप्टर दुर्घटनामा मृत्यु भयो । अधिकारीको निधनसँगै रिक्त रहेको सो क्षेत्रमा आज उपनिर्वाचन भएको हो । त्यस्तै, ३ वटा प्रदेशसभा सांसदहरुको पनि निधन भएपछि रिक्त प्रदेश सभा क्षेत्रमा पनि आज  निर्वाचन भइरहेको छ । भक्तपुर प्रदेशसभा १ को (क) का सांसद हरिशरण लामिछानेको ०७५ वैशाख ३ गते निधन भएको थियो । त्यस्तै, बाग्लुङ प्रदेशसभा २ को (ख)का सांसद टेकबहादुर घर्तीमगर र दाङ प्रदेशसभा ३ को (ख) का सांसद उत्तर कुमार वलीको पनि निधन भएपछि सो क्षेत्र रिक्त छ ।

त्यस्तै, स्थानीय तहतर्फ धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बा, पाँचथर फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङ र महोत्तरी पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरीको निधन भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाही, संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवालको निधन भएपछि सो स्थानमा उपनिर्वाचन भइरहेको छ । त्यस्तै, संखुवासभा खाँदबारी नगरपालिका ३ नम्बर वडाध्यक्ष तोयानाथ ढुंगाना चेलबेटी बेचविखनको मुद्दामा जेल परेका थिए । उनको ०७४ फागुनमा जेलमै मृत्यु भएको थियो । महोत्तरी मटिहानी नगरपालिका वडा ६ का अध्यक्ष सञ्जयकुमार मण्डलले ०७४ माघमा राजीनामा दिएका थिए । ६ जना वडाध्यक्ष जिल्ला समन्वय समितिमा निर्वाचित भएका कारण ती वडा रिक्त छन् ।

साढे ४ लाख मतदाता

आज भइरहेको उपनिर्वाचनमा ४ लाख ५४ हजार १ सय १४ जना मतदाताले मतदान गर्न सक्नेछन् । जसमा महिला २ लाख ३३ हजार ४ सय २, पुरुष २ लाख २० हजार ७ सय १० र अन्य २ जना छन् ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने कास्की जिल्ला निर्वाचन क्षेत्र  नं. २ मा ७१ हजार ८ सय ७१ जना, प्रदेशसभा सदस्यको निर्वाचन हुने भक्तपुर, बागलुङ र दाङका सम्बन्धित निर्वाचन क्षेत्रमा क्रमशः ४५ हजार १५ जना, ३५ हजार १ सय ८४ जना र ६८ हजार ७ सय १९ जना गरी २ लाख २० हजार ७ सय ८९ मतदाता रहेको आयोयोगले जनाएको छ ।

स्थानीय तहतर्फ २ लाख ३३ हजार ३ सय २५ जना मतदाता छन्। आयोगगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७४ पछि उपनिर्वाचन हुने क्षेत्रमा १६ हजार २ सय १९ जना मतदाता थपिएका छन् । यस उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ ११ वटा, प्रदेश सभा सदस्यतर्फ १५ वटा र स्थानीय तहका सदस्यका लागि २० वटा राजनीतिक दल सहभागी छन् ।बाह्रखरी

प्रतिकृया दिनुहोस्