News Portal

भारतिय हस्तक्षेप बिरुद्ध विप्लव नेकपाद्वारा दाेस्राे चरणका संघर्षका कार्यक्रमकाे घाेषणा

रातोपोस्ट संवाददाता
११७१ पटक

काठमाडौं ।सरकारबाट प्रतिबन्धित नेत्र विक्रम चन्द(विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भारतीय हस्तक्षेपका विरुद्ध दाेस्राे चरणको संघर्षका कार्यक्रमकाे घाेषणा गरेको छ।

भारतले नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्सामा समावेश गरेपछि नेकपाले दोस्रो चरणको सङ्घर्षका कार्यक्रमकाे घोषणा गरेको हो । दोस्रो चरणको सङ्घर्षमा जुलुुस प्रदर्शन, अन्तरक्रिया, सीमा बचाउ अभियानद्वारा जारी नक्साको प्रचार तथा नक्सा प्रदर्शन, भारतीय दूतावासअगाडि प्रदर्शन, ज्ञापनपत्र बुझाउने र साहित्यिक कार्यक्रम गर्ने रहेका छन् ।
पार्टी प्रवक्ता प्रकाण्डले शनिबार प्रेसविज्ञप्ति जारी गरेर भारतीय हस्तक्षेपविरुद्ध सङ्घर्षका नयाँ कार्यक्रमहरू सार्वजनिक गरेका हुन् । विज्ञप्तिमार्फत मङ्सिर १५ देखि २६ गतेसम्मका कार्यक्रम सार्वजनिक गरिएको छ । यसअघि नेकपाले भारतीय हस्तक्षेपविरुद्ध पहिलो चरणको सङ्घर्ष सम्पन्न गरिसकेको छ ।
भारतीय साम्राज्यवादी हस्तक्षेपका विरुद्ध यसअघि साताव्यापी सङ्घर्ष सञ्चालन गरेको नेकपाले शनिबार दोस्रो चरणको सङ्घर्षको कार्यक्रम सार्वजनिक गरेको हो । सङ्घर्षका कार्यक्रमहरूअन्तर्गत जुलुुस प्रदर्शन, अन्तरक्रिया, सीमा बचाउ अभियानद्वारा जारी नक्सा प्रचार तथा नक्सा प्रदर्शन, भारतीय दूतावासअगाडि प्रदर्शन, ज्ञापनपत्र बुझाउने र साहित्यिक कार्यक्रम गर्ने रहेका छन् । साथै विज्ञप्तिमा नेकपाले वर्तमान केपी सरकार राष्ट्रियताको रक्षा गर्ने सवालमा साम्राज्यवादसामु लाचार बनेको बताइएको छ ।
देशको माटो रक्षार्थ उठेको आक्रोश, पीडा, आन्दोलन र पहलकदमीलाई भारतीय साम्राज्यवादको निर्देशन र मालिक रिझाउने नियतले निरुत्साहित गर्न आक्रमण गर्ने गरेको भन्दै नेकपाले सरकारको आत्मसमर्पणवादी र दलाल प्रवृत्ति सशक्त आन्दोलनको धक्काबाहेक अरू कुनै तरिकाले पराजित नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ,

भारतीय साम्राज्यवादले नेपालका २३ जिल्लाका ७१ स्थानमा सीमा अतिक्रमण गरेको छ र हालै नेपालका कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायत स्थानमा फौजी आक्रमण गरेर कब्जा गरेको छ । भारतको साम्राज्यवादी शासकले देशको भूगोल अतिक्रमण र कब्जा गरेको यत्रो समयसम्म पनि केपी वली सरकारले त्यसलाई गम्भीरतापूर्वक लिएको छैन र अतिक्रमित कालापानी क्षेत्र फिर्ता लिन पहलकदमी लिएको छैन । त्यसप्रकारको सरकारी रबैयाप्रति पार्टी आपत्ति र खेद प्रकट गर्दछ । तर देशभक्त र स्वाभिमानी नागरिक आआफ्नो तहबाट भारतीय अतिक्रमण र हस्तक्षेपका विरुद्ध आन्दोलित छन् । हाम्रो पार्टी त्यसप्रकारको प्रतिरोध सङ्घर्ष गर्ने सीमा बचाउ अभियानसहित नागरिक अगुवा, विद्यार्थी, दलहरू, बौद्धिक समुदाय, सञ्चारकर्मी तथा आम देशभक्त नागरिकप्रति धन्यवाद ज्ञापन गर्दछ । देश र विदेशमा रहेका नेपाली र नेपालमाथि परेको पीडा र अन्यायका विरुद्ध भूमिका निर्वाह गर्ने, आन्दोलित हुने सबैप्रति धन्यवाद र त्यसप्रकारको अभियानमा पार्टी ऐक्यबद्धता जाहेर गर्दछ ।
नागरिक अगुवाहरूद्वारा जारी गरिएको कालापानी, लिम्पियाधुरा, लिपुलेकसहितको नेपालको नक्सालाई सरकारले मान्यता दिन, प्रयोगमा ल्याउनसमेत चाहेको छैन, न त आफ्नो भूभाग समेटेर नक्सा सार्वजनिक गर्न नै सकेको छ । प्रकारान्तरले सरकारको भूमिकाले भारतीय हमला र अतिक्रमणलाई नै सहयोग गरिरहेको छ जसको कारण राजनीतिक दलका नेता, बुद्धिजीवी र नागरिकले सरकारप्रति गम्भीर तथा अकल्पनीय आशङ्का गर्नुपर्ने भएको छ । सरकारको लाचारी पराकाष्टामा पुगेको छ । देशको माटो रक्षार्थ उठेको आक्रोश, पीडा, आन्दोलन र पहलकदमीलाई भारतीय साम्राज्यवादको निर्देशन र मालिक रिझाउने नियतले निरुत्साहित गर्ने, आक्रमण गर्ने गरिरहेको छ । त्यसप्रकारको आत्मसमर्पणवादी र दलाल प्रबृत्ति सशक्त आन्दोलनको धक्काबाहेक अरू कुनै तरिकाले पराजित हुनेछैन । त्यसप्रकारले देशभक्तिको आन्दोलनलाई अझ माथि उठाउन र संयुक्त पहल गर्नसमेत पार्टी अपिल गर्दछ ।
दोस्रो चरणका सङ्घर्षका कार्यक्रमहरू :
मङ्सिर १५ गते जुलुुस प्रदर्शन
मङ्सिर १७ गते काठमाडौँमा अन्तरक्रिया
मङ्सिर १९ गते सीमा बचाउ अभियानद्वारा जारी नक्सा प्रचार
मङ्सिर २० गते नक्सा प्रदर्शन
मङ्सिर २२ गते भारतीय दूतावासअगाडि प्रदर्शन
मङ्सिर २४ गते ज्ञापनपत्र बुझाउने
मङ्सिर २६ गते साहित्यिक कार्यक्रम

२०७६ मङ्सिर १४ गते

प्रकाण्ड
प्रवक्ता
नेपाल कम्युनिस्ट पार्टी

 

प्रतिकृया दिनुहोस्