News Portal

प्रचण्डकाे अध्यक्षतामा नेकपाकाे सचिवालय बैठक सुरु

रातोपोस्ट संवाददाता
५२३ पटक

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपाका कार्यकारी अध्यक्ष केपि शर्मा ओली स्वास्थ्य अवस्थाका कारण अस्पतालमा रहेकोले अर्का अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड )काे नेतृत्वमा नेकपाकाे सचिवालय बैठक शुरु भएको छ। कार्यकारी जिम्मेवारी पाएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार बिहान पहिलोपटक बैठक बोलाएका हुन्।

आगामी  बैठकका एजेन्डा तय गर्नका लागि सचिवालय बैठक बोलाइएको र अहिले धुम्बाराहिमा बैठक चलिरहेको सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीसँग सहमति लिएर सचिवालय बैठक बोलाएको नेताहरूले बताएका छन्। दुई अध्यक्षबीच मंसिर ४ गते ओलीले सरकार र दाहालले पार्टी हाँक्ने सहमति भएको थियो।

प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनु अघिल्लो दिन अर्थात् मंसिर ९ मा तीन शीर्ष नेताहरू (ओली, दाहाल र विष्णु पौडल) बीच जुटेको संगठनात्मक एकताका बाँकी कामको सहमति र उपचुनावको समीक्षामा बैठक केन्द्रित हुने नेकपा सचिवालयले जानकारी दिएको छ।

दुवै अध्यक्षको वरीयता यथावत् रहने, सरकार र पार्टी काम अध्यक्षद्वय ओली-दाहालबीच आपसी सहमतिमा गर्ने, बैठकको अध्यक्षता दुवै अध्यक्षले संयुक्त रूपमा गर्ने, तर आमरूपमा बैठकको अध्यक्षता र सञ्चालन दाहालले गर्ने गरी मंसिर ४ मा ओली-दाहालको कार्य विभाजन भएको थियो।

नेकपाभित्र लामो समयदेखि पार्टी स्थायी समिति र केन्द्रीय समिति बैठक नसक्दा पार्टीभित्रै असन्तुष्टि चुलिँदै जान थालेको छ। केन्द्रीय समिति पार्टी एकताको १८ महिनामा एकपटक निर्वाचन आयोगमा दल दर्ताका लागि मात्र बसेको छ।

स्थायी समिति गत वर्ष (मंसिर २९ देखि पुस १३ सम्म) देखि बस्न सकेकै छैन। दाहालले यी दुवै बैठक पनि सचिवालय बैठकपछि राख्ने तयारी गरेका छन्।

प्रतिकृया दिनुहोस्