News Portal

नेकपाको नयाँ कार्यदिशा : वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा जाने

रातोपोस्ट संवाददाता
७०४ पटक

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले आफ्नो विधान संशोधन गर्ने भएको छ।

पार्टीको कार्यदिशा र उपाध्यक्ष पद थप्नेगरी पार्टी विधान संशोधनको प्रस्ताव आउन लागेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको नेकपा सचिवालय बैठकले आगामी २९ गते बस्ने पार्टी स्थायी समितिको बैठकमा विधान संशोधनको प्रस्ताव लैजाने निर्णय गरेको हो।

प्रवक्ता श्रेष्ठका अनुसार नेकपाले पार्टीको कार्यदिशा परिवर्तन गर्न लागेको छ।

‘पार्टीको कार्यदिशा वैज्ञानिक समाजवाद स्थापना गर्दै साम्यवादको दिशातिर अघि बढ्ने भन्ने राखिनेछ,’ श्रेष्ठले भने।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एमाले र  माओवादी केन्द्रबीच एकता हुँदा लामो समयसम्म पार्टीको कार्यदिशा के हुने भन्ने बहस चलेको थियो।

एमालेले नेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई आफ्नो कार्यदिशा मान्दै आएको थियो भने माओवादी केन्द्रको कार्यदिशा एक्काइसौं शताब्दीको जनवाद थियो।

दुबैका विचारलाई समायोजन गरेर नेकपाले कार्यदिशा जनताको जनवाद र अधिकतम् लक्ष्य समाजवाद स्थापना गर्ने बनाएको थियो।

‘जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै शान्तिपुर्ण, संवैधानिक र लोकतान्त्रिक बाटोबाट मुलुकको सामाजिक आर्थिक रूपान्तरण गर्नु र राष्ट्रिय पुँजीको विकास गर्दै सामाजिक न्याय एंव लोकतान्त्रिक मूल्यसहित समाजवादको आधार निर्माण गर्नु यस पार्टीको तात्कालिक लक्ष्य हो,’ विधानमा भनिएको थियो।

नेकपाले पार्टीमा उपाध्यक्षको पद पनि थप्ने भएको छ।

अहिलेको विधानको धारा १८ ले दुई अध्यक्ष, दुई वरिष्ठ नेता, एक प्रवक्ता र एक महासचिव सहित ४४१ सदस्यीय केन्द्रीय समितिको व्यवस्था गरेको छ।

गत साउनमा बसेको सचिवालय बैठक अध्यक्षद्वय केपी शर्मा ओली पुष्पकमल दाहाल प्रचण्डले नेता वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव गरेका थिए। विधानमा उपाध्यक्षको व्यवस्था नै नभएकाले अनुमोदनका लागि स्थायी समितिको बैठकमा पठाउने सहमति भएको थियो।

विधान संशोधन भएर उपाध्यक्ष पद सिर्जना भएसँगै वामदेवलाई उपाध्यक्ष बन्ने बाटो खुल्नेछ।

विधान संशोधनलगायतको विषयमा छलफल मंसिर २९ गतेदेखि नेकपा स्थायी समिति बैठक बस्दै छ।

प्रतिकृया दिनुहोस्