
जनकपुर। बारा जिल्लाको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरिलाल राउत जेल चलान भएका छन् । अध्यक्ष राउत सवारी ज्यान सम्बन्धी मुद्दामा आइतबार जेल चलान भएका हुन् ।
सवारी ज्यानसम्बन्धी मुद्दामा २०६३ भाद्र २९ गते जिल्ला अदालत बाराले दिएको फैसला कार्यान्वयन गराउन प्रहरीले गाउँपालिका प्रमुख राउतलाई पक्राउ गरी आइतबार अदालतमा हाजिर गराएको थियो ।
अदालतले कारागारमा कैद भुक्तानको लागि कारागारमा राख्न आदेश दिएपछि राउतलाई वीरगंज कारागार पठाइएको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए ।
१३ वर्षअघि राउतले चलाएको ना ४ प ३७८५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बाराको छाता पिपरा बस्ने ६५ वर्षीया हासिया देवीको मृत्यु भएको थियो । जिल्ला अदालत बाराले राउतलाई २९ दिन कैद र दुई हजार जरिवाना तिराउन फैसला गरेपनि कार्यान्वयन हुन सकेको थिएन ।