
खोटाङ । नेपाल प्रेस युनियन शाखा खोटाङको उपाध्यक्ष पदमा राजन ठटाललाई मनोनित गरिएको छ । नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाल प्रेस युनियनले शनिबार एक कार्यक्रमको आयोजना गरि रिक्त उपाध्यक्ष पदमा ठटाललाई मनोनित गरेको हो ।
खोटाङको रावाबेंशी गाउँपालिका–१ कुभिन्डे स्थाई घर भएका ठटाल झापालाई पत्रकारीताको कर्मथलो बनाएर विगत ४ वर्षदेखी पत्रकारीता पेशामा आवद्ध रहेका थिए ।
ठटालले ब्लाष्ट राष्ट्रिय दैनिक, पूर्वाञ्चल राष्ट्रिय दैनिक, लोकतन्त्र पोष्ट राष्ट्रिय दैनिक, लगातका संचारमाध्यममा आवद्ध भएर काम गरेका छन् । ठटाल खवरमञ्च साप्ताहिकका कार्यकारी सम्पादकसमेत रहेका थिए ।
ठटालले आफ्नै गृह जिल्लामा बसेर जिल्लाको हितका निम्ति कलम चलाउने गरि जिल्ला फर्किएको बताएका छन् । उनले जिल्लाको समग्र क्षेत्रको समृद्धिका लागि जिल्लामै बसेर कलम चलाउने प्रतिवद्धता गरेका छन् ।
साथै, संस्था र प्रेस युनियनले दिएको जिम्मेवारीलाई ईमान्दारपूर्वक आफ्नो कार्यकाल सम्पन्न गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् । प्रेस युनियनका जिल्ला अध्यक्ष उत्तम चौलागाँइको सभापतित्वमा तथा नेपाली कांग्रेसका जिल्ला सदस्य प्रकाशकुमार श्रेष्ठको प्रमुख आतिथ्यतमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर सभापति दुर्गा प्रसाद घिमिरे, जिल्ला सदस्य डिल्लीकुमारी आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका वडा नम्बर–१ का वडाध्यक्ष टंकप्रसाद आचार्य, कांग्रेस यूवा नेता राजन शैंजु प्रेस युनियनका पूर्व अध्यक्ष दिलीप खत्री, प्रेस युनियनका महिला उपाध्यक्ष कृष्णकला राई, सचिव चिसाङ शेर्पालगायतको उपस्थिति रहेको थियो ।