News Portal

कनकाई कप चौथो संस्करणको उपाधि अर्जुनधारालाई

रातोपोस्ट संवाददाता
६२० पटक

झापा । सुरुङ्गामा आयोजित कनकाई कप चौथो संस्करणको उपाधि अर्जुनधारा नगरपालिकाको टिमले जितेको छ ।

कनकाई खेलकुद प्रतिष्ठानले आयोजना गरेको कनकाई कप अर्जुनधारा नगरपालिकाले दोस्रो पटक जितेको हो । यसअघि दोस्रो संस्करणमा पनि अर्जुनधाराले उपाधि रक्षा गरेको थियो ।

कनकाई माविको खेल मैदानमा आज (मंगलबार) भएको फाइनल खेलमा अर्जुनधाराले बिर्तामोड नगरपालिकाको टिमलाई सडन डेथमा पराजित गरेर उपाधि उचालेको हो । निर्धारित समयमा गोलरहित बराबरी भएपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो ।

टाइब्रेकरमा पनि समान ४-४ गोलको बराबरी भएपछि खेल सडन डेथमा धकेलिएको थियो । जसमा अर्जुनधाराले ५–४ गोलमा बिर्तामोडमाथि बाजी मारेको हो । अर्जुनधाराका लागि सरोज कार्की, वादल तामाङ, सौरभ लिम्बू, पुष्प मादेन र पेमा तामाङले गोल गरे भने अनिष राई र प्रमोद चौधरीको प्रहार विपक्षी गोलरक्षकले रोकेका थिए ।

त्यस्तै, बिर्तामोड विकी चौधरी, सनम लिम्बू, अंकुर तामाङ र सानुका लिम्बूका प्रहार गोलमा परिणत हुँदा रमेश श्रेष्ठ र रमण भुजेलको प्रहार अर्जुनधाराका गोलरक्षक संजय गुरुङले बचाएका थिए । आशिष चापागाईको प्रहार बाहिरिएको थियो ।

खेलको म्यान अफ दी म्याच अर्जुनधाराका गोलरक्षक संजय गुरुङ घोषित हुँदै नगद २ हजार पाउन सफल भए भने बिर्तामोडका कप्तान अंकुर तामाङ प्लेयर अफ दी टुर्नामेन्ट हुँदै नगद ४ हजारबाट पुरस्कृत भए ।

विजेता अर्जुनधारा नगरपालिकाको टिमले नगद १ लाख ११ हजार १११ रुपैयाँसँगै ट्रफी पाएको छ । उपविजेता बिर्तामोडले नगद ५५ हजार ५५५ रुपैयाँमा चित्र बुझाएको छ । विजेता तथा उपविजेता टिमलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, अर्जुनधाराका प्रमुख हरिकुमार राना, आयोजकका अध्यक्ष दुर्गा प्रसाईलगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रतिकृया दिनुहोस्