
झापा। एक नम्बर प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को सपना साकार पार्न अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवले सघाउ पुर्याउने बताएका छन् ।
मेची उद्योग वाणिज्य संघले झापाको धुलाबारीमा आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक व्यापार कृषि तथा पर्यटन महोत्सवको बुधबार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
पर्यटन भ्रमण वर्ष २०२० लाई सार्थकता प्रदान गर्न महोत्सवको भूमिका महत्वपूर्ण रहने मुख्य मन्त्री राईको भनाई थियो । एक नम्बर प्रदेशलाई देशकै नमूना र समृद्ध प्रदेशको रुपमा विकास गर्न लागिएको चर्चा गर्दै उनले आगामी १० वर्षभित्रमा प्रदेश १ ले हरेक क्षेत्रमा समृद्धि हाँसिल गर्ने बताए ।
सरकारले सुरु गरेको नयाँ नेपाल निर्माणको अभियानलाई साकार बनाउन तीनै तहको सरकार क्रियाशील भएर लागेको उल्लेख गर्दै मुख्यमन्त्री राईले आगामी ५ वर्षभित्रमा प्रदेश १ मा १५ सय मेघावाट क्षमताको विद्युत उत्पादन गर्ने र १० वर्षभित्रमा बेरोजगारी समस्या अन्त्य गर्ने दावी गरे ।
कृषि तथा पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले २० करोड रुपैयाँ विनियोजन गरेको बताउँदै उनले निजी क्षेत्रको सहकार्यमा प्रदेशको विकासमा आफ्नो ध्यान केन्द्रीत हुने बताए । मुख्यमन्त्री राईले महोत्सवले उद्योग, पर्यटन तथा कृषिमा योगदान पुर्याउने भन्दै आयातलाई प्रतिष्थापन गर्ने गरी स्वदेशी उत्पादन बढाउन आग्रह गरे । निर्यातमा देखिएका जटिलतालाई सरकारले नीतिगत रुपमै निर्णय गरेर समाधान गर्ने उनको भनाई थियो ।
पर्यटन वर्ष २०२० शुभारम्भको पूर्वसन्ध्यामा आयोजित महोत्सव उद्घाटनका क्रममा हेलिकप्टर उडाएर आकाशबाट कार्यक्रमस्थल परिसरमा पुष्पवृष्टि गरिएको थियो । उद्घाटन समारोहमा प्रदेशसभा सदस्य गोपाल बुढाथोकी, राधा थापा, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मेला उत्सव समितिका संयोजक दिलसुन्दर श्रेष्ठ, महासंघ प्रदेश नम्बर १ का अध्यक्ष नरेन्द्रकुमार खड्का, नेपाली काँग्रेस झापाका उपसभापति राम कट्टेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संघका अध्यक्ष ऋषिराज तिम्सिनाको अध्यक्षतामा सम्पन्न महोत्सवको उद्घाटन सत्रमा महोत्सव आयोजक समिति संयोजक भूमि पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । सो कार्यक्रमको सञ्चालन संघका महासचिव ध्रुव कनालले गरेका थिए ।
आगामी पुस १७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । विभिन्न वस्तु तथा सेवाका २ सय १० वटा स्टल राखिएको महोत्सवमा १४ वटा बंगलादेशका, ५ वटा भारतका र दुईवटा पाकिस्तानका स्टल छन् । महोत्सवको मुख्य प्रायोजकमा एशियन थाई फुड्सको उत्पादन रमपम तयारी चाउचाउ छ भने मेचीनगर नगरपालिका प्रमुख संरक्षक रहेको छ ।