News Portal

  • प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौँडा कायम गर्न नेकपाको निर्देशन

    रातोपोस्ट संवाददाता
    ५८० पटक

    काठमाण्डौ। प्रदेश नम्बर ३ को नाम बाग्मती राख्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रदेश कमिटी र प्रदेश सभा दललाई निर्देशन दिने निर्णय गरेको छ ।

    आइतबार बसेको सचिवालय बैठकले प्रदेश राजधानी भने अहिले रहेकै हेटौँडा कायम गर्न पनि निर्देशन दिने निर्णय गरेको हो ।

    प्रदेशको नाम र राजधानीका विषयमा नेकपाकै सांसदहरु एकमत नहुँदा दुई वर्षदेखि निर्णय हुन सकेको थिएन ।

    नेपाल मण्डल, नेवा ताम्सालिङ वा बाग्मती के नाम राख्ने भन्नेमै नेकपाका सांसदहरुबीच विवाद थियो ।

    यस्तै राजधानीका विषयमा पनि उनीहरुभित्र काभ्रे, भक्तपुर, हेटौँडा कहाँ राख्ने भन्नेमा विवाद थियो ।

    प्रदेश सांसदहरुबीच विवाद हुँदा नामाकरण र राजधानी तोक्न ढिलाइ भएपछि नेकपाको सचिवालय बैठकले प्रदेश सभा दल र प्रदेश

    कमिटीलाई आफूले गरेअनुसार निर्णय गर्न निर्देशन दिएको हो ।

    प्रदेश नम्बर ३ को प्रदेश सभामा नेकपाको दुई तिहाइ बहुमत छ ।

    आफ्नै पार्टीको दुई तिहाइको बहुमत रहेकाले नेकपाको सचिवालय बैठकले नाम र राजधानी टुङ्गाे लगाउँदै त्यहीअनुसार निर्णय गर्न निर्देशन दिएको हो ।

    नेकपाको सचिवालयले दिएको निर्देशनअनुसार अब प्रदेश सभाले निर्णय गरेपछि नाम र राजधानीले औपचारिकता पाउने छ ।

    प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नाम र राजधानी टुङ्गाे लगाउन प्रदेश सभाबाट कठिन भएकाले पार्टीले नै निर्देशन दिनुपर्ने भन्दै अध्यक्षसामु प्रस्ताव राख्नुभएकाे थियाे ।

    मुख्यमन्त्रीकै आग्रहबमोजिम नेकपाले प्रदेशको नाम र राजधानी टुङ्गाे लगाउँदै त्यसैअनुसार आफ्ना सांसदलाई अघि बढ्न निर्देशन दिएको हो ।

    सचिवालय बैठकमा सभामुख चयन र राष्ट्रिय सभा चुनावका विषयमा भने समय अभावका कारण कुनै छलफल हुन नसकेको नेकपाका महासचिव विष्णु पौडेलले बताउनुभयो ।

    यस्तै बैठकमा एमसीसीका बारेमा छलफल हुने भनिएको भए पनि यो विषयमा पनि छलफल नभएको उहाँले जानकारी दिनुभयो ।

    एमसीसीको बारेमा पार्टीको स्थायी कमिटी बैठकले यस अघि निर्णय गरे अनुसार नै सचिवालय बैठकमा पनि निर्णय हुने पौडेलले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)