News Portal

नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन, युवाहरुले मेचीनगर पर्यटकीयस्थलमा मोटरसाइकल र्याली गर्ने

रातोपोस्ट संवाददाता
७६९ पटक

झापा सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल पार्ने उद्देश्यले मेचीनगरको पर्यटकीय क्षेत्रको प्रबर्धन गर्न युवाहरुले मोटरसाइकल र्याली गर्ने भएका छन् ।

बुधबार (१ जनवरी, २०२०) दिन युवाहरुले मेचीनगरको पर्यटकीय क्षेत्रलाई चिनाउन मोटरसाइकल र्याली आयोजना गरेको सोमबार मेचीनगरको खुट्टीडाँगी सिमसार क्षेत्रमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

अनेरास्ववियू मेचीनगर, वाइसीयल मेचीनगर र युवा  संगठन मेचीनगर कमिटीको आयोजनामा हुने र्यालीमा ५० वटा मोटरसाइकल सहभागी हुने छन् ।

स्थानीय क्षेत्रको पर्यटन प्रबर्धन गर्नका लागि मोटरसाइकल र्याली आयोजना गरिएको युवा संगठन मेचीनगरका अध्यक्ष सरोज मेहराले जानकारी दिए ।

उनका अनुसार र्यालीमा युवाहरुलाई बढीभन्दा बढी सङ्ख्यामा सहभागिता गराउने योजना रहेको  बताए ।

‘हामीले पर्यटकीय क्षेत्रसँगसँगै शिक्षा तथा कृषि फार्मलाई पनि रोजेका छौं,’ अध्यक्ष मेहराले भने, मेचीनगरका केही शैक्षिक तथा कृषि फार्महरु देशकै उदाहरणीय छन् । तिनको प्रचार गर्न सकियो भने पर्यटकका लागि अध्ययन र अनुसन्धानको विषय बन्न सक्छ ।’

मेचीनगर–१३, चारआलीमा रहेको उत्तरगङ्गा धार्मिक तथा पर्यटकीय क्षेत्रबाट बुधबार विहान ७ बजे र्याली सुरु गरिने छ । उक्त मोटरसाइल र्याली प्रगति सामुदायिक वन मेचीनगर–१२, निचाझोडा सिमसार मेचीनगर–१३, बालसुवोधिनी निमावि मेचीनगर–१४, कालिका सिमसार मेचीनगर–११, बाँसवारी सिमसार मेचीनगर–१२ हुँदै अगाडि बढ्ने छ ।

त्यहाँबाट र्याली आदर्श मावि मेचीनगर–८, पातालगङ्गा पर्यटकीय क्षेत्र मेचीनगर–८, मेची जस्केलो मेचीनगर–६ पुग्नेछ । त्यहाँबाट कृष्णथुम्की मेचीनगर–१, मिनी माउन्टेन मेचीनगर–२, सीएम कृषि फार्म मेचीनगर–२ हुँदै मेचीनगर–९ मा रहेको खुट्टीडाँगी सिमसार क्षेत्रमा आएर समापन गर्ने कार्यक्रम तय भएको छ ।

पर्यटकीय क्षेत्रका सबै प्रतिनिधिहरुलाई राष्ट्रिय झन्डा र भिजिट वर्षको लोगो हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको आयोजक वाइसीयल मेचीनगर कमिटी अध्यक्ष विनोद मण्डलले बताए ।

उनका अनुसार मोटरसाइल र्यालीमा लाग्ने सम्पूर्ण खर्चको व्यवस्थापन युवाहरु आफैले नै जुटाउने छन् । मोटरसाइकल र्यालीमा औषधि लगायतका सामाग्रीको व्यवस्थापन धुलाबारीको हलेसी मेडिकलले गर्ने जानकारि दिए ।

पत्रकार सम्मेलनमा युवा नेताहरु राजु धिमाल, सोम ओझा, विद्यार्थी नेता सन्तोष धमला, खुट्टीडाँगी वनका अध्यक्ष टङ्कबहादुर नेपाललगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्