
झापा। पूर्वी नाका काँकरभिट्टाबाट नेपाल प्रवेश गर्ने पाँच जना विदेशी पाहुनालाई सम्मान गरेर भ्रमण बर्ष २०२० को उद्घाटन गरिएको छ ।
नाकाबाट नेपाल प्रवेश गर्ने पहिलो पाहुनाहरु भारतीय नागरिक प्रिंयका मल्लिक, पिंकी मजुमदार, मामुनी मल्लिक, स्वेता खड्कालगायतलाई टाका टापी र रुद्राक्षको माला लगाएर कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद राम कार्की, प्रवेश सांसद श्रीप्रसाद मैनाली, गोपाल बुढाथोकी, मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यलगायतले सम्मान गरेका थिए ।
मेचीनगर पर्यटन समितिको आयोजनामा काँकडभिट्टामा गरिएको कार्यक्रममा प्रमुख अतिथि कार्की, प्रदेश सांसद मैनाली र बुढाथोकीले नेपालका विभिन्न स्थान घुम्न आउने पर्यटकहरुलाई स्वागत सम्मान गरिने बताए । नाका क्षेत्रमा नेपाली झण्डाहरु राखेर सजाइएको छ ।
कार्यक्रममा नेवारमा समुदायको लाखे नाँच, किराँत समुदाय, मेचे, सन्थाललगायत विभिन्न जातजातिका झाँकीसहितको सांस्कृतिक नृत्य प्रस्तुत भइरहेको छ । दिनभर काँकरभिट्टामा जातीय पहिचान, कला संस्कृति झल्कने सांस्कृति कार्यक्रम प्रस्तुत गरिने र नेपालका पर्यटकीय स्थलहरुको बारेमा दृश्यबोर्ड राखेर जानकारी गराइने मेचीनगरका मेयर विमल आचार्यले बताए ।
पर्यटन विकास समितिकी संयोजक तथा नगरकी उपप्रमुख मिना उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समितिकै प्रचार संयोजक अनन्तप्रकाश वस्तीले गरेका थिए ।
पूर्वी नाकाबाट नेपाल आउने पर्यटकलाई मेचीनगरका पर्यटकीय स्थलको बारेमा जानकारी दिनका लागि काँकरभिट्टादेखि चारआलीसम्मका क्षेत्रमा होर्डिङ बोर्डहरु राखिएको छ ।