News Portal

  • अर्गानिक आलु उत्पादनमा जुट्यो कृषक समूह

    रातोपोस्ट संवाददाता
    ६४१ पटक

    झापा । तीन महिनाअघि स्थापना भएको बाहुनडाँगीस्थित शुभलक्ष्मी कृषक समूहले अर्गानिक आलु उत्पादन गर्ने उद्देश्यले व्यावसायिक खेती सुरु गरेको छ ।
    मेचीनगर–१ स्थित झा गाउँमा १ बिघा माटो लिजमा लिएर सामूहिक रुपमा लालगुलाब जातको आलु रोप्न सुरु गरिएको समूहले जनाएको छ ।

    समूहका सदस्य समेत रहेका स्थानीय नरेन्द्र भट्टराईको जग्गा वार्षिक २५ हजार रुपैयाँ बुझाउने शर्तमा ५ वर्षका लागि लिजमा लिएर खेती गर्न थालिएको समूहका अध्यक्ष रामप्रसाद ओझाले बताए ।

    ‘समूह स्थापना गरेपछि मेचीनगर कृषि विकास शाखामा दर्ता गर्यौं र खेती सुरु गरेका हौं’ समूहकी कोषाध्यक्ष पार्वता न्यौपानेले भनिन्–‘यो हाम्रो पहिलो प्रयास हो, सामूहिक रुपमा लागी परेका छौं ।’

    संस्था दर्ता प्रक्रियाका लागि समूहमा आबद्ध २१ जनाबाट प्रतिव्यक्ति ५ सय रुपैयाँ र खेती सुरु गर्न २१ ज्नाबाट प्रतिव्यक्ति ५ हजार रुपैयाँ संकलन गरिएको समूहका सचिव राजन न्यौपाने बताउँछन् ।

    खेती गर्न बिर्तामोडबाट डेढ कुइन्टल आलुको बीउ खरिद गरी ल्याइएको बताउँदै समूहका उपाध्यक्ष हरिबहादुर तामाङ भन्छन्–‘आउँदो वर्ष एक बिघा जमीन थप्ने योजनामा छौं ।’

    पूर्णरुपमा अर्गानिक आलु फलाउने सोच बनाएर खेती सुरु गरेको समूहले विरुवामा मलका रुपमा बाख्राको जुत्तो, कुखुराको सुली, गाईभैंसीको गोबर, कम्पोस्ट मल प्रयोग गर्ने बताएको छ ।

    ‘प्राङ्गारिक मल मात्रै हाल्छौं, रासायनिक मल हाल्दैनौं’ समूहकी कोषाध्यक्ष न्यौपाने भन्छिन्–‘औषधिका रुपमा गहुँत र निमपत्ति प्रयोग गछौं ।’

    आलु खेती गर्न समूहलाई साना किसान कृषि सहकारी संस्था बाहुनडाँगीले अनुदान स्वरुप ३ वटा स्प्रे ट्यांकी र १० बोरा चुना उपलब्ध गराएको छ । त्यसअघि बिर्तामोडस्थित कृषि एग्रिकल्चरले समूहले आलु खेती गर्न थालेको माटोमा नमूना परीक्षण समेत गरिसकेको छ ।

    खेतीका लागि खनजोत, गोठे मल, जुत्तो, सुली, श्रमदान, बीउलगायत विभिन्न शीर्षकमा गरी हालसम्म ५० हजार रुपैयाँ बढी रकम लगानी भइसकेको समूहका अध्यक्ष ओझाको भनाई छ ।

    ‘यो खेतमा पहिले धान, मकै मात्र फल्थ्यो, आलु खेतीका लागि पनि यो माटो उपयुक्त छ’ अध्यक्ष ओझा भन्छन्–‘अब आलुसँगै प्याज, बन्दा कोबी, काँक्रा, सिँबी, भिन्डी, करेला पनि रोप्ने योजना छ ।’

    ११ सदस्यीय समूहमा ५ जना महिला र ६ जना पुरुष आबद्ध रहेका जानकारी दिँदै उनले समूहका विपन्न वर्गका सदस्यलाई स्वरोजगार बनाउन पनि खेती गर्ने योजना बनाइएको बताए ।

    गत शनिबार सिद्धिखोला जल उपभोक्ता समितिका अध्यक्ष नीलकण्ठ तिवारीले एक कार्यक्रमकाबीच आलु खेतीको विधिवत् उद्घाटन गरेका थिए । उद्घाटनका अवसरमा अगुवा कृषक समेत रहेका प्रमुख अतिथि तिवारी, मेचीनगर वडा नम्बर १ का अध्यक्ष पासाङ तामाङ, मेचीनगर मूल कृषक समूहका अध्यक्ष पूर्णबहादुर खड्कालगायतले समूहलाई शुभकामना दिए ।

    सो कार्यक्रमका वक्ताहरुले विषादीयुक्त तरकारीले मानवीय स्वास्थ्यमा प्रतिकूल असर गरिरहेका बेला समूहले सुरु गरेको कृषि कर्मको प्रशंसा गरे ।
    विषादीरहित कृषिजन्य उत्पादनमा जोड दिँदै उनीहरुले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर व्यवसाय अघि बढाउन कृषकहरुलाई अपिल समेत गरे ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)