News Portal

राष्ट्रियसभा निर्वाचनका लागि ४५ उम्मेदवार मैदानमा

रातोपोस्ट संवाददाता
५१३ पटक

काठमाडौं । राष्ट्रियसभा सदस्यको १८ पदका लागि आगामी माघ ९ गते हुने निर्वाचनमा ४५ जनाको उम्मेदवारी परेको छ ।

उक्त निर्वाचनका लागि मुलुकका सातै प्रदेशमा आज भएको उम्मेदवारी मनोनयपत्र दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमले जानकारी दिए ।

बिहान १० बजेदेखि अपराह्न ३ः०० बजेसम्म उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम सञ्चालन भएको थियो ।

आगामी फागुन २० मा दुईवर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी नेकपाका नौ, नेपाली काँग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक सदस्यको स्थानमा निर्वाचन हुन लागेको हो ।

निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसङ्ख्यक दुई र अन्य समूहबाट सात सदस्य निर्वाचित हुनेछन् ।

निर्वाचन आयोगका अनुसार

प्रदेश नं १ मा महिला, दलित र अन्य समूहका एक/ एक पदका लागि तीन/ तीनको उम्मेदवारी परेको छ ।

प्रदेश नं २ मा महिला, दलित, अल्पसङ्ख्यक र अन्य समूहका एक/ एक पदका लागि दुई÷दुई जनाले उम्मेवारी दर्ता गराएका छन् ।

प्रदेश नं ३ मा महिला र अन्य समूहका एक/ एक पदका लागि तीन / तीनको उम्मेदवारी मनोनयन पत्र दर्ता भएको छ ।

गण्डकी प्रदेशमा महिला र अन्य समूहका एक/ एक पदका लागि महिलातर्फ दुई र अन्य समूहतर्फ तीन जनाले उम्मेदवारी दर्ता गराका छन् ।

प्रदेश नं ५ मा महिला एक, अल्पसङ्ख्यक एक र अन्य समूहका एक/ एक पदका लागि क्रमशः दुई, तीन र चार जनाको उम्मेदवारी परेको छ ।

कर्णाली प्रदेशमा रिक्त हुने महिला एक र अन्य समूहको एक पदका लागि दुई / दुई जनाले उम्मेदवारी दर्ता  भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश नं ७ मा महिला र अन्य समूहका एक/ एक पदका लागि दुई / दुई जनाको उम्मेदवारी परेको छ ।

उनान्साठी सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ ।

पदावधि सकिनेमध्ये एक सदस्य मनोनित गरिने छन् । राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष/ उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुन् ।

प्रतिकृया दिनुहोस्