News Portal

माइबेनी मेलाको सुरक्षा सिसी क्यामेराबाट, बढी पार्किङ शुल्क उठाउनेलाई कारबाही

थाहा खबर
८९३ पटक

दमक : झापाको कनकाई नगरपालिकास्थित कनकाई (माई) नदी किनारमा माघे संक्रान्तिको अवसरमा लाग्ने माइबेनी मेलामा यसवर्ष पनि सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रदेश १ कै चर्चित धार्मिक माइबेनी मेलामा प्रदेशभरिका जिल्लासहित छिमेकी राष्ट्र भारतबाट समेत हजारौंको संख्यामा श्रद्धालु तथा भक्तजनहरू आउने गरेकाले मेलालाई सुरक्षित तथा व्यवस्थित बनाउन यसवर्ष प्रविधियुक्त सुरक्षा योजना बनाएको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।

माई नदी किनारमा मकर संक्रान्तिका दिन सूर्य उत्तरायण भएका बेला गरिएको स्नान, दान, जपतप, तीर्थ, व्रतलाई उत्तम मानिएको छ। त्यसैले माई नदीमा नुहाएर पूजाआर्चना गरे आफूले चिताएका मनकामना पूरा हुने धार्मिक विश्वास रहेको छ।

२० स्थानमा सिसी क्यामेरा जडान

जिल्ला प्रहरी कार्यालय झापाले स्थानीय तह, मेला सञ्चालन समिति, स्थानीय क्लब र धार्मिक संघ-संस्थासँग समन्वय गरी बनाइएको सुरक्षा योजनामा मेला स्थलमा सिसी क्यामेरा जडान गरिएको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कोइरालाले बताए। ‘कनकाई पुलसहित नदीको दुवैतर्फ गरी २० स्थानमा सिसी क्यामेरा जडान गरेको छौं,’ प्रहरी उपरीक्षक कोइरालाले भने, ‘प्रविधियुक्त सुरक्षा व्यवस्था मिलाउँदा प्रहरीलाई सुरक्षा प्रदान गर्न सहज हुन्छ।

आपराधिक क्रियाकलापमा कमी आउँछ।’ उनका अनुसार मेलालाई लक्षित गरी कनकाई पुल पूर्व-पश्चिम गरी मेला लाग्ने दुवै स्थानमा ३ सय प्रहरी परिचालन गरिने छ।  पूर्व-पश्चिम राजमार्गमा यातायातका सवारीसाधन सञ्चालन गर्नलाई नदीमै डाइर्भसन बनाइएको छ।

‘नदीबाटै दुवैतर्फ आवत-जावत गर्न व्यवस्था मिलाउँदा पुलमा ट्राफिक जाम हुँदैन’, उनले भने। उनले राजमार्गमै २५ जना ट्राफिक परिचालन गरेर भक्तजनलाई राजमार्ग तलको पैदल मार्ग प्रयोग गराएर सडक खुल्ला राख्ने व्यवस्था मिलाइसकेको बताए।

गतवर्ष झापामै प्रहरी नायव उपरीक्षक भएर मेलाको जिम्मेवारी निर्वाह गर्दा यस्तै सुरक्षा व्यवस्था मिलाएकोले कुनै अप्रिय घटना हुन नपाएको उनले सुनाए। मेलास्थलमा जुवातास, मदिरा बेचबिखन पूर्ण रूपमा बन्देज लगाइएको छ। यता झापाका प्रमुख जिल्ला अधिकारी उदय राणा मगरसहित जिल्लाका सुरक्षा निकायका प्रमुखले मंगलबार मेला स्थलमा पुगेर सुरक्षा व्यवस्थाको अनुगमन गरिसकेका छन्।

बढी पार्किङ शुल्क उठाउनेलाई कारबाही

हरेक वर्ष माइबेनी मेलामा सवारीसाधन लिएर जाने झक्तजनबाट पार्किङको नाममा मनपरि शुल्क उठाउन थालेको भन्दै यस वर्ष कनकाई नगरपालिकाले सवारी साधनको रेट घटाएको छ।

गतबर्ष मोटरसाइकलबाट २००, साना सवारीसाधनबाट ५०० र ठूला सवारीबाट एक हजारसम्म पार्किङ लिने गरेको विरोध भएपछि नगरपालिकाले यसवर्ष शुल्क घटाएर लगाएको छ। ‘यसवर्ष नगरपालिकाले मोटरसाइकलको ५० र साना सवारीसाधन १५० रुपैयाँ तोकिएको छ।

त्यो भन्दा बढी शुल्क उठाउने व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाही गर्छौं,’ प्रहरी उपरीक्षक कोइरालाले भने। ‘पार्किङ स्थलमा रकम खुल्ने बोर्ड लगाउन ठेकेदारलाई जानकारी गराइसकेका छौं,’ उनले भने, ‘बोर्ड नराख्ने स्थानमा शुल्क उठाउन नदिन प्रहरी परिचालन गरेका छौं।’

प्रतिकृया दिनुहोस्