News Portal

जनप्रतिनिधि नै गिटी–बालुवाका ठेकेदार

रातोपोस्ट संवाददाता
७३३ पटक

काठमाडौं । पूर्व सांसद तीर्थ लामाले खार्पाचोकमा नाङसाल क्रसर चलाएका छन् । सो क्रसरका कारण बिपी राजमार्ग नै जोखिममा परेको भन्दै पटक–पटक स्थानीयले विरोध गर्दै आएका छन् ।

कांग्रेसकै अर्का नेता कुन्साङ लामाको नमोबुद्ध–६ मा ब्लु साइन स्टोन क्रसर उद्योग छ । उनी नमोबुद्ध नगरपालिकाको मेयरमा पराजित उम्मेदवार हुन् । त्यसको नजिकै डन पृष्ठभूमिका गणेश लामाको क्रसर छ । उनी कांग्रेस नेता विजयकुमार गच्छदारका विश्वासपात्र हुन् ।

नेकपाका नेताहरू प्रेम लामा र उज्ज्वल लामाले पनि क्रसर चलाएका छन् । प्रेम जिल्ला समन्वय समितिका सदस्यसमेत हुन् । त्यस्तै प्रदीप बोगटीले लामो समयदेखि ढुंगाखानी चलाउँदै आएका छन् । पनौती तथा बेथानथोकका क्रसर नेता तथा प्रहरीलाई समेत साझेदार बनाएर चलाइएको छ । रोसी तथा सुनकोसी नदीबाट मापदण्डविपरीत रोडा–बालुवा निकाल्ने तथा क्रसर चलाउनेहरू पार्टीमै आबद्ध छन् ।

जिल्ला समन्वय समितिको नेतृत्वले काभ्रेका सबै क्रसर तथा खानी अनुगमन गर्दा अवैध रूपमा सञ्चालन भएको भेटिएको थियो । ‘सबै उद्योगले कुनै न कुनै मापदण्ड पूरा नगरेको भेटिएको छ,’ काभ्रेका सिडिओ श्रवण तिमल्सिनाले भने, ‘छिटै प्रतिवेदन सार्वजनिक गर्छौँ ।’

गुल्मी : रेसुंगा नगरपालिकाका मेयरको क्रसर उद्योग छोराको नाममा

इस्मा गाउँपालिका–२ पनाहामा ठूलो बेनामे क्रसर सञ्चालनमा छ । दर्ता त परको कुरा, वातावरणीय मूल्यांकनसमेत नगरी सञ्चालन गरिएको यो क्रसर सञ्चालकमध्ये एक वीरेन्द्र भुसाल रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालका छोरा हुन् ।

अर्का सञ्चालक नेकपाका जिल्ला सचिवालय सदस्यसमेत रहेका निर्माण व्यवसायी संघ गुल्मीका अध्यक्ष नारायण पोखरेल हुन् । भुसाल रामेछाप कन्स्ट्रक्सन र पोखरेल सुनील समिति निर्माण सेवाका सञ्चालक पनि हुन् । तीन वर्षअघि तम्घास–सिमलटारी–प्युठान सडक कालोपत्रेका लागि कालिका प्यासेफिक कन्स्ट्रक्सनलाई अस्थायी रूपमा सञ्चालन अनुमति दिइएको क्रसर काम सकिएपछि भुसाल र पोखरेल मिलेर किनेका हुन् । अहिले उनीहरूले नदी दोहन गरिरहेका छन् ।

सिन्धुपाल्चोक : जिल्लाका नेता मात्रै होइन, भक्तपुरका जनप्रतिनिधि समेतको लगानी

मेलम्ची नगरपालिका–१२ स्थित रक्तमाला र पाल्चोकी इन्फ्रास्ट्रक्चर क्रसरमा भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलको लगानी छ । मेलम्ची–१३ को गंगा–इन्द्रावती क्रसरमा पनि उनको सेयर छ । त्यस्तै मेलम्ची–१३ का वडाध्यक्ष देवेन्द्र घोरासैनीले पनि चौतारा–साँगाचोकगढी नगरपालिका–११ मा कालिन्चोक भगवती एग्रिगेट क्रसर चलाएका छन् ।

यो क्रसरमा नेकपा जिल्ला नेता गोविन्द पराजुलीको पनि लगानी छ । भक्तपुरका जनप्रतिनिधिसमेत सिन्धुपाल्चोक पुगेर क्रसर चलाएका छन् । मेलम्ची–१३ को जालपादेवी क्रसर सूर्य्विनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापाको हो । चौतारा–साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिंह तामाङले भने छोरा रघुसिंह तामाङको नाममा इन्द्रावती–१२ मा अविरल इन्द्रावती क्रसर सञ्चालन गरेका छन् ।

यो क्रसरमा नेकपा जिल्ला सचिव दावा तामाङको पनि लगानी छ । चौतारा–साँगाचोकगढी–१२ स्थित सिन्धु स्टोन एन्ड क्रसर कांग्रेस जिल्ला नेता केशवराज गिरीको हो । त्यस्तै नेकपा जिल्ला सदस्य उपेन्द्र तामाङको पनि मेलम्ची–११ मा पाल्चोकीमाई क्रसर उद्योग छ । यी सबै क्रसर मापदण्डविपरीत सञ्चालनमा छन् ।

झापा  :  नेकपा र कांग्रेस दुवैका नेताको क्रसरमा लगानी

बिर्तामोड–६ स्थित बुट्टाबारीमा पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको छ, कञ्चनजंगा क्रसर उद्योग जसका सञ्चालक हुन्, केदार गिरी । झापामा ‘क्रसर किङ’ भनेर चिनिने गिरी कांग्रेसका क्रियाशील सदस्य हुन् ।

नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ झापाका पूर्वअध्यक्षसमेत हुन् । क्रसर मापदण्डविपरीत भएको भन्दै घरेलु तथा साना उद्योग कार्यालय झापाले पटक–पटक पत्रसमेत काटिसकेको छ । तर, राजनीतिक पहुँचकै कारण उनी प्रशासनलाई नै टेर्दैनन् ।

उनलाई दुई महिनाअघि काटिएको पत्रको जवाफ पनि नदिएको घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख छविलाल खतिवडाले बताए । तर, गिरी भने उल्टै चुनौती दिन्छन्, ‘मैले सबै मापदण्ड पूरा गरेर स्वीकृति लिएको हुँ, कसले पत्र पठायो र रु’

कांग्रेसकै जिल्ला नेता शेरबहादुर थापाले पनि मापदण्डविपरीत क्रसर चलाएका छन् । अर्जुनधारास्थित खोलामै उनले जयकाली भगवती रोडा उद्योग चलाएका छन् जुन मापदण्डविपरीत छ ।

दमकको मावा खोलामा नेकपासम्बद्ध एक परिवारले तीनवटा क्रसर चलाएको छ । बालुवा प्रशोधन केन्द्रका नाममा ढुंगा र गिटी क्रसिङ पनि गरिँदै आएको छ । राजकुमार थापाको परिवारका तीनजनाले अवैध रूपमा उद्योग चलाएका हुन् ।

राजकुमारले दमक–९ स्थित बेतेनी खोलाको बगरमा एआरआर कंक्रिट उद्योग चलाएका छन् । उनको उद्योग बस्तीसँगै जोडिएको छ । त्यस्तै, उनका साइँला दाइ गुणराजले दमक–३ स्थित मावा खोलाको बगरमा टिएचओ बालुवा प्रशोधन केन्द्र र उनका माइली दिदीका छोरा विनोद थापाले इन्द्रभवानी बालुवा प्रशोधन केन्द्र चलाएका छन् ।

उनीहरूले राजनीतिक पहुँचकै आधारमा मापदण्डविपरीत यी प्रशोधन केन्द्र चलाउँदै आएका छन् । उद्योगले असर गर्दा पनि धम्कीका कारण बोल्न नसकेको स्थानीय बताउँछन् । राजकुमार र गुणराज नेकपाका सक्रिय स्थानीय नेता हुन् ।

राजकुमार तत्कालीन एमाले युवा संघ झापा क्षेत्र नम्बर ५ का क्षेत्रीय अध्यक्ष थिए । उनी प्रधानमन्त्री केपी ओलीसँग सीधा पहुँच राख्ने स्थानीय नेताका रूपमा चिनिन्छन् । ओलीको सचिवालयमा यसअघि रहेका झापा नेकपाका प्रभावशाली नेता देवेन्द्र दाहालको पनि विश्वासपात्र हुन्, राजकुमार ।

दाहाल अब हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा नेकपाबाट प्रदेश १ बाट उम्मेदवार छन् । राजकुमारको दमकका जनप्रतिनिधिसँग पनि विशेष सम्बन्ध छ ।नयाँ पत्रिका

प्रतिकृया दिनुहोस्