
बुटवल ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तराई क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापनको नाममा वन तस्कर र फडानी नराेके कडा कारबाही गर्ने चेतावनी दिएको छ।
शुक्रवार अवध स्वायत्त प्रदेशले विज्ञप्ती जारी गर्दै स्वायत्त प्रदेश अन्तर्गत तराई क्षेत्रमा वैज्ञानिक वनव्यस्थापनको नाममा भुमाफिया, वनविभागका भ्रष्ट कर्मचारी र आइएनजिओ मिलेर वनक्षेत्रको अत्यधिक दोहन गरेको भन्दै तत्काल नरोके कारवाही गर्ने चेतावनी दिएको हो ।
स्वायत्त प्रदेशका प्रमुख नाथुप्रसाद थारुद्धारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्तीमा वैज्ञानिक वन व्यवस्थापनको नाममा गरिएको वन फडानी तत्काल रोक्न भनिएको छ । विज्ञप्तीमा भनिएको छ, “तराईमा सामाजिक दलाल सरकारद्धारा संरक्षित भुमाफिया, काठतस्कर, वनविभागका भ्रष्ट कर्मचारी र आइएनजिओ मिलेर “वैज्ञानिक वनव्यवस्थान” को नाममा साल लगायतका घनाजङ्गल फडानी गरी हजारौं हेक्टर वनक्षेत्रलाई सखाप पारिएको छ र ती क्षेत्र उजाड चउरमा परिणत भएको छ । यसले एकातिर प्राकृतिक प्रकोपको जोखिम बढेको छ भने अर्कोतिर पर्यावरणमा समेत गम्भीर असर पारेको छ ।” त्यसैगरी सरकारको कथित वैज्ञानिक वनव्यवस्थापन कार्यक्रमवारे कसैपनि भ्रममा नपर्न अपील गर्दै प्राकृतिक स्रोत र साधनमाथिको लुट र दोहनको अन्त्य वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र सम्भव भएको नेकपाले बताएको छ ।
यस्तो छ विज्ञप्तिकाे पुर्णपाठ—
नेपालको वनजङ्गल तस्कर र माफियाहरुको संस्थागत अतिक्रमणको शिकार हुँदै आएको छ । अहिले तराईमा सामाजिक दलाल सरकारद्धारा संरक्षित भुमाफिया, काठतस्कर, वनविभागका भ्रष्ट कर्मचारी र आइएनजिओ मिलेर “वैज्ञानिक वनव्यवस्थान” को नाममा साल लगायतका घनाजङ्गल फडानी गरी हजारौं हेक्टर वनक्षेत्रलाई सखाप पारिएको छ र ती क्षेत्र उजाड चउरमा परिणत भएको छ । यसले एकातिर प्राकृतिक प्रकोपको जोखिम बढेको छ भने अर्कोतिर पर्यावरणमा समेत गम्भीर असर पारेको छ ।
दलाल सरकारको कथित वैज्ञानिक वनव्यवस्थान कार्यक्रमवारे कसैपनि भ्रममा पर्न जरुरी छैन । किनकी दलाल पुँजीवादी राज्यव्यवस्थामा प्राकृतिक स्रोत साधनको संरक्षण सम्भव छैन । वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र प्राकृतिक स्रोत साधनमाथिको लुट र दोहनको अन्त्य गर्दै जनताको सामुहिक वा सार्वजनिक स्वामित्व स्थापित गर्न सक्दछ । त्यसकारण दलाल सत्ताले भन्दै आएको कथित वैज्ञानिक वनव्यवस्थान अन्तर्गत पुराना ठूला रुखहरु काटेर सिध्याउने र नयाँ विरुवा रोप्ने नाममा गरिएको वनक्षेत्रको अत्यधिक दोहन, चोरी, तस्करी तत्काल बन्द गर्न चेतावनी दिन चाहन्छौं । उक्त कार्य तत्काल नरोके कडा कारवाही गरिने समेत जानकारी गराउँदछौं ।