
काठमाण्डौ। प्रतिनिधिसभा सभाको रिक्त रहेको सभामुख पदका लागि माघ १२ गते चुनाव हुने भएको छ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले उपसभामुखको पदबाट राजीनामा दिएपछि सभामुख निर्वाचनको प्रक्रिया अघि बढाउन बाटो खुलेको हो ।
सोमबार बसेको प्रतिनिधिसभाको दोश्रो बैठकको अध्यक्षता गर्नुभएका महन्थ ठाकुरले प्रतिनिधिसभा नियमावली २०७५ नियम २११ को उपनियम २ बमोजिम उपसभामुख तुम्बाहाङ्फेले दिएको राजीनामालाई सभा समक्ष पढेर सुनाउनुभएको थियो ।
लगत्तै उहाँले प्रतिनिधिसभा नियमावलिको नियम ७ बमोजिम प्रतिनिधिसभाको सभामुख पदको चुनाव माघ १२ गतेका लागि निर्धारण गर्दे चुनावकाे कार्यक्रम सार्वजनिक गर्न संघीय संसद सचिवालयका महासचिव मनाेहरप्रसाद भट्टराईलाई निर्देशन दिनुभयो ।
उपसभामुख तुम्बाहाङ्फेको राजीनामापछि ज्येष्ठ सदस्यको हैसियतमा महन्थ ठाकुरले प्रतिनिधिसभाको अध्यक्षता गर्नुभएको हो । यसअघि ठाकुरले राष्ट्रपति विद्यादेवी भण्डारीबाट ज्येष्ठ सदस्यको सपथ लिनुभएको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक माघ १२ गते आइतबार अपराह्न ३ बजे का लागि बोलाइएको छ ।
यसैबीच, सभामुख पदको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।
कार्यतालिका अनुसार मंगलबार बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । साढे २ बजे उम्मेदवारको सूची प्रकाशित गरिने छ । माघ १२ गते आइतबार ३ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख पदको चुनाव हुने छ ।
संघीय संसदको हिउँदे अधिवेशनको पहिलो बैठक पुस ४ गते बसेको भए पनि सभामुख पद रिक्त रहेका कारण एक महिनासम्म संसद बैठक प्रभावित हुदै आएको थियो ।
असोज १४ गते कृष्णबहादुर महराले राजीनामा दिएपछि प्रतिनिधिसभाको सभामुख पद रिक्त रहँदै आएको छ।