News Portal

सभामुख चयन आज, सापकोटा एकल उम्मेदवार

रातोपोस्ट संवाददाता
७२५ पटक

काठमाडौँ। प्रतिनिधि सभामा सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । सभामुख चयनको प्रक्रिया अगाडि बढाउन सङ्घीय संसद् भवनमा अपराह्न ३ बजे प्रतिनिधि सभा बैठक डाकिएको छ ।

सभामुखमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाको एकल मनोनयन परेको छ । सापकोटाको मात्र एकल मनोनयन परेकाले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार उहाँ निर्विरोध हुनुहुनेछ ।

बैठकमा सापकोटाका तर्फबाट प्रस्तावक सुवासचन्द्र नेम्वाङले उम्मेदवारको प्रस्ताव पेस गर्नुहुनेछ । वक्तव्यसहित पेस हुने प्रस्तावमा समर्थकले धारणा राख्नुहुनेछ । सापकोटाको समर्थकमा पूर्वसभामुख ओनसरी घर्ती, नेकपाका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ हुनुहुन्छ ।

यस्तै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद लक्ष्मणलाल कर्णले पनि सापकोटाको उम्मेदवारीमा समर्थन गर्नुहुनेछ ।
प्रतिनिधि सभा नियमावलीको नियम ७ को व्यवस्था अनुसार एक मनोनयन परेकाले प्रस्तावक र समर्थकले धारणा राखेपछि सभाध्यक्षबाट सापकोटालाई निर्विरोध सभामुख चयन भएको घोषण हुनेछ ।

नियमावली अनुसार एकल मनोनयन परेमा निर्विरोध हुने व्यवस्था छ । प्रमुख विपक्षी दल नेपाली काँग्रेस र अर्को विपक्षी दल समाजवादी पार्टीले उम्मेदवारी दिन सकेनन् ।

प्रतिकृया दिनुहोस्