News Portal

एमसीसीबारे संसद्‍मा सत्ता–प्रतिपक्ष एउटै स्वर : पारित गरौं– ओली, ढिला नगरौं– देउवा

रातोपोस्ट संवाददाता
६१४ पटक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्को बहस भएको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को बहस प्रतिनिधि सभामा प्रवेश गरेको छ ।

पुस ४ गते शुरू भएपनि पटक–पटक सूचना टाँसेर स्थगित भएका कारण प्रतिनिधि सभामा यसबारे बहस हुन सकेको थिएन ।

प्रतिनिधि सभामा अनुमोदनका लागि दर्ता भएको प्रस्तावको बारेमा संसद्बाहिर पर्याप्त छलफल भइसकेको छ ।

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिने कार्यसूची भएपनि प्रधानमन्त्रीदेखि प्रतिपक्षी दलका नेतासम्मले संसद्मा एमसीसीको बहस प्रवेश गराएका छन् ।

एमसीसी पारित गर्न प्रतिपक्षी दलले एककदम अगाडि बढेर सरकारलाई आग्रह गरेको छ ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सम्बोधन गरेका प्रधानमन्त्री एवं सत्तारुढ नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले ६ वटा प्रधानमन्त्रीको पालामा प्रक्रिया अगाडि बढेको एमसीसी अनुमोदन गर्नुपर्ने बताए ।

‘हामीले धेरै अगाडिदेखि बढ्दै आएको, विभिन्न चरण पार गर्दै आएको ६/७ वटा प्रमको कार्यकाल गुजार्दै आएको तथा अहिले संसद्समक्ष अनुमोदनका लागि प्रतिक्षा गरेको एमसीसी पारित गर्नु पर्नेछ, जसको सम्बन्धमा सविस्तार पछि भन्नेछु,’ ओलीले भने ।

भोलिदेखि काठमाडौंमा शुरू हुने नेकपा केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा एमसीसी पारित गर्नुपर्ने अभिव्यक्ति दिएर यसबारेको बहस नलम्बाउने संकेत ओलीले गरेका छन् । यसअघि मंसिर अन्तिम साता बसेको नेकपा स्थायी समिति बैठकमा एमसीसीको चर्को बहस भएको थियो ।

प्रधानमन्त्री ओलीलगत्तै बोलेका कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले एमसीसी अनुमोदनमा विलम्ब नगर्न सरकारसँग आग्रह गरे । आफू प्रधानमन्त्री रहेको समयमा मन्त्रिपरिषद्ले एमसीसी पास गरेको स्मरण गर्दै देउवाले पारित गर्न ढिला गर्न नहुने बताए ।

‘एमसीसी म प्रधानमन्त्री भएको बेलामा क्याबिनेटले पास गरेको हो, यति ठूलो सहयोग अमेरिकाबाट यसअघि कहिले आएको थिएन,’ देउवाले भने, ‘एमसीसी पास गर्न चिनियाँ एम्बास्डरले आपत्ति छैन भनेको छ, अब के आपत्ति भयो ?’

नेपालका बिजुली भारतमा बेच्ने हो भने एमसीसी अगाडि बढाउनुपर्ने र सदनबाट पारित गर्नुपर्ने उनले बताए । एमसीसीमार्फत नेपालमा ५५ अर्ब रुपैयाँ अमेरिकी सहायता आउँदैछ । सरकारले संसद्को हिउँदे अधिवेशनबाट यो सम्झौता अनुमोदनको तयारी गरेको छ ।

मंगलवार नै प्रतिनिधि सभा बैठकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमसीसीको विवाद विषयकेन्द्रित भन्दा पनि पार्टीभित्रको गुटको गन्ध आएको टिप्पणी गरे ।

‘अहिले एमसीसीको जस्तो कुरा आइरहेको छ, म बुझ्छु यसमा एउटा राष्ट्रिय कोणबाट आउनुभन्दा पनि पार्टी विशेषभित्रको गुटको गन्ध त्यसमा देखा परिरहेको छ । यो सुखद् विषय होइन । यस्तो विषयमा गहन छलफलको एउटा नीति निर्माण हुनुपर्छ,’ भट्टराईले भने ।

राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले एमसीसीबारे गम्भीर बहस हुन जरुरी रहेको बताइन् ।

देशलाई बन्धकमा राखेर एमसीसी पारित गर्न नहुनेमा उनको जोड थियो ।

प्रतिकृया दिनुहोस्