News Portal

त्रिविले प्रस्ताव गर्‍यो स्ववियु निर्वाचनको तालिका

रातोपोस्ट संवाददाता
७४७ पटक

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले  आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गर्ने कार्यतालिका प्रस्ताव  गरेको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले विद्यार्थी संगठनहरुसँगको वैठकमा सो प्रस्ताव राखेको हो  ।

बैठकमा सहभागी अनेरास्ववियू , समाजवादी विद्यार्थी युनियन, अखिल (छैठौं), नेक्राबिसंघ लगायतका संगठनले प्रस्तावित स्वबियु निर्वाचन तालिकाको स्वागत गरेको बैठकमा सहभागी अनेरास्ववियूका नेता विजय गौतमले बताए ।

त्रिविले आफ्ना आंगिक कलेजमा मात्र नभई सम्बन्धन प्राप्त सबै कलेजमा स्ववियु गराउन अग्रसर हुनुपर्ने कुरामा विद्यार्थी संगठनले जोड दिएको गौतमले बताए ।

बैठकमा नेविसंघले एक दुई दिनमा आफ्नो प्रतिनिधि पठाउने खबर आएको विद्यार्थी कल्याण तथा खेलकुद महाशाखाका प्रमुख गंगा बहादुर थापाले जानकारी दिएका थिए ।

अदालतको आदेशको आधारमा पनि निर्वाचनको विकल्प नरहेकोले एक दुई दिनमा बाँकी संगठनसँग समेत छलफल गरि निर्वाचन तालिका सार्वजनिक गरिने निमित्त रेक्टर शिवलाल भुषालले बताएको नेता गौतमले जानकारी दिए ।

त्रिविका निमित्त रेक्टर शिवलाल भुषालको अध्यक्षतामा बसेको बैठकमा नेबिसंघ र बिप्लव निकट क्रान्तिकारी बाहेक सबै संगठनको सहभागिता रहेको थियो। बैठकमा  अनेरास्ववियूका संयोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङ , अखिल छैठौंका अध्यक्ष विमल पोखरेल लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्