News Portal

चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मरे

रातोपोस्ट संवाददाता
८५५ पटक

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा मङ्गलबार एकै दिन दुई गैंडा मरेका छन् । यी सँगै चालु आर्थिक वर्षमा प्राकृतिक कारणले मरेका गैंडाको संख्या १३ पुगेको छ । सोमध्ये दुई राष्ट्रिय वन क्षेत्रमा हुन् भने अन्य निकुञ्ज क्षेत्रमा हुन् ।

निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार निकुञ्जको तमासपुर क्षेत्रमा अन्दाजी १८–२० वर्षको पोथी गैंडा मृतावस्थामा फेला परेको हो । अर्को एक गैंडा सुखीभार क्षेत्र नजीक मृतावस्थामा फेला परेको छ । उनका अनुसार सो गैंडा ३० वर्षको पोथी हो ।

निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा.विजयकुमार श्रेष्ठका अनुसार तमासपुरमा भेटिएको गैँडा विषाक्त खानाका कारणले मरेको प्रारम्भिक अध्ययनमा देखिएको छ । विषाक्त घाँस खाएर गैंडा मरेको हुन सक्ने श्रेष्ठले जानकारी दिए । अर्को गैंडा मर्नाको कारण खुल्न सकेको छैन ।

गत आर्थिक वर्षमा ४३ गैँडा प्राकृतिक कारणले मरेका थिए । आर्थिक वर्ष २०७४–७५ मा २६ र २०७३–७४ मा २५ गैँडा कालगतिले मरेका थिए । गैंडाको मृत्युदर उच्च भएपछि निकुञ्ज विभागले मृत्युको कारण अध्ययन गर्न समिति बनाएर काम गरिरहेको छ ।

विगत केही वर्षयता चोरीसिकारीबाट गैंडा मारिएका छैनन् तर कालगतिले मर्ने क्रम बढेपछि संरक्षणको क्षेत्रमा चिन्ता व्यक्त गरिएको छ । यसैगरी माउले छाडेका दुई बच्चालाई उद्धार गरी राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा राखिएको छ । श्रेष्ठका अनुसार एउटा अन्दाजी तीन हप्ताको पोथी तमासपुर क्षेत्रबाट र अर्को चार महिनाको भाले बच्चा सौराहा नजीकैबाट उद्धार गरी राखिएको छ ।

प्रतिकृया दिनुहोस्