News Portal

नेकपाका केन्द्रीय सदस्यहरूको चिन्ता– ‘पार्टी ठेकेदारले लाने भो !’

नयाँ पत्रिका
६५५ पटक

काठमाडौं । ७० वर्ष पुरानो नेपालको कम्युनिष्ट पार्टी इतिहासमा फरक विचार र सिद्धान्तका व्याख्याताको फेहरिस्त लामै छ । टुट र फुट क्रमका दुःखानुभूति पनि कम छैनन् । तर दुई ठूला कम्युनिष्ट पार्टीहरू एकता भएको अढाइ वर्ष बितिसक्दा पनि नेता र कार्यकताहरू अझै पार्टी पङ्क्ति र सञ्चालन–तरिकाप्रति सन्तुष्ट छैनन् ।

सचिवालय बैठकदेखि स्थायी समिति बैठकसम्म पार्टीमा गुट झाङ्गिएको, विधि र सिद्धान्तअनुसार पार्टी नचलेको पीरमर्का शीर्ष नेताहरूले यसअघिका बैठकहरूमै राख्दै आएका हुन् । यसैबीच १५ माघदेखि सुरू नेकपाको केन्द्रीय समिति बैठकमा सहभागी नेताहरूको एउटै दुःखेसो छ– पार्टी गरिब जनतामुखी भएन । पैसा जोसँग छ, उही नेता हुनसक्ने अवस्था आयो ।

पार्टी ठेकेदारले लाने भो !

नेकपा शीर्ष नेताहरूलाई थाहा नहुने कुरै भएन– स्थानीय तहले जनतालाई सहज सेवा दिन सकिरहेका छैनन् । १५ माघदेखि जारी बैठकमा पेस गरिएको प्रतिवेदनमा भनिएकै छ, ‘खास प्रगतिको अनुभव नभएको स्थानीय तहदेखि केन्द्रसम्मै सुनिन्छ । सुशासन कायम गर्न र भ्रष्ट्राचार नियन्त्रण गर्न प्रदेश र स्थानीय सरकारलाई लोकप्रिय र प्रभावकारी ढङ्गले सञ्चालन गर्न पार्टीको तर्फबाट आवश्यक संयन्त्र निर्माण गर्नुपर्दछ ।’

प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लेखेको प्रतिवेदनमा यस्तो उल्लेख भए पनि सुशासन कायम गर्न र भ्रष्ट्राचार नियन्त्रण गर्न सत्तारुढ दल र कार्यकर्ताहरू जनताका माग र मुद्दाप्रति जवाफदेयी हुन नसकेको भन्दै चालु बैठकमा केन्द्रीय सदस्यहरूले असन्तुष्टि जनाइरहेका छन् ।

‘पैसा खर्च गर्न सक्नेले मात्र चुनाव लड्न पाउने अवस्था आयो । पार्टीप्रति समर्पित कार्यकर्ता ओझेलमा परे,’ बैठकमा सहभागी सदस्य केदार न्यौपानेको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘यस्तै हुँदै जाने हो भने पार्टी नेताको हातमा होइन, ठेकेदारको हातमा जान्छ ।’ बैठकमा उपस्थित अर्का सदस्य पदम राईले चुनावी तौड-तरिकाले पार्टीमा पैसा खर्च गर्न सक्ने वर्ग हावी भएको टिप्पणी गरे ।

प्रदेश र स्थानीय कमिटीका पार्टी सदस्यहरू किनबेच हुने गरेको भन्दै अर्का सदस्य मातृका यादव पार्टी नेतृत्वप्रति खरो उत्रिए । ‘यस्ता मामलामा पूर्वएमाले बढी सक्रिय देखिएको छ । पूर्वमाओवादी केन्द्र पनि कम छैन,’ स्थायी कमिटी सदस्यसमेत रहेका यादवले दुःख व्यक्त गरे ।

‘निमय तोड्न हिँडेका नेता, पूजा गर्न थाले’

यादवले पार्टी नेतृत्वमा आडम्बर र स्वाङ बढेको भन्दै छलफलमा आक्रोस पोखे । ‘रूढिग्रस्त नियम तोड्न हिँडेका हाम्रा नेताहरू आफैं बाहुन खोजेर घण्टौंसम्म पूजा लगाउन मन पराउन थाल्नुभएको छ,’ यादवले छलफल समूहमा प्रश्न गरे, ‘यस्तो नियममा बाँधिएर हामी कतातिर जान खोजेका हौं रु’ यादवको भनाइमा तत्कालीन समयमा सशस्त्र युद्ध गरेर आएका पार्टीहरू अहिले शक्ति राष्ट्रहरूसँग झुक्ने र लम्पसार पर्ने गरेको अर्थ लुकेको सहभागी एक सदस्यले बताए ।

एमसिसीबारे एकस्वर

पार्टी मुख्यालय धुम्बराही, जनवर्गीय सङ्गठन कार्यालय पेरिस डाँडा र राष्ट्रिय सभागृहमा छुट्टा–छुट्टै समूहमा छलफल गरेका नेताहरूले एमसिसी अमेरिकाको सैन्य रणनीति भए नस्वीकार्न आवाज उठाएका छन् । ‘आजको विश्व परिवेशमा हामी अरूसँग सहभागी नभई छुट्टै बस्न सक्दैनौँ । सबै राजनीति क्रान्ति सकिएकाले हामी आर्थिक समृद्धिको बाटोमा छौं,’ केन्द्रीय सदस्य रचना खड्काले भनिन्, ‘रकम दिएर हामीमाथि प्रभुत्व र प्रभाव जमाउने अमेरिकाको उद्देश्य हो भने त्यस्तो सहयोग स्वीकार्न नहुने हाम्रो मत छ ।’

अर्का सदस्य मुक्ति प्रधानले एमसिसीबारे बैठकमा फरक मत नआएको र राष्ट्र हित र स्वार्थ हेरेर सहयोग लिनुपर्ने सबैको धारणा रहेको बताए ।

‘सीमा विवाद नेतृत्वले टुङ्ग्याओस्’

छलफलमा सहभागी सदस्यहरूले नेपाल–भारत सीमा विवाद समाधान गर्न दुवै अध्यक्षले थप पहल गर्नुपर्ने धारणा राखेका छन् । ‘सीमा विवाद समाधानको विषयलाई बैठकमा महत्वपूर्ण रुपमा उठाएका छौं,’ सदस्य राजु खड्काले भने ।

लिपुलेक, कालापानी, लिम्पियाधुरा र सुस्तालगायत सबै स्थानका सीमा विवाद समाधानका लागि नेपाल र भारतबाट सरकारी स्तरमा वार्ताका माध्यमद्वारा समाधान निकाल्ने पार्टी र सरकार नेतृत्व लागिपरेको खड्काले प्रष्ट्याए ।

प्रतिकृया दिनुहोस्