
काठमाडौं । प्रदेश नम्बर–२ सरकारले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई बिनाधितो ऋण उपलब्ध गराउने भएको छ ।
संघीय सरकारले स्वदेशमा रोजगार सिर्जना गर्ने दाबी गर्दै आएपनि फेरि पनि विभिन्न रुपबाट वैदेशिक रोजगारीलाई नै प्रवर्द्धन गर्ने कार्यक्रम आइरहेको देखिन्छ ।
सरकारले वैदेशिक रोजगारमा जानेका लागि बिनाधितो ऋण उपलब्ध गराउनका लागि विभिन्न बैंकसँग सम्झौता गरेको हो ।
सीप विकास परियोजना तथा प्रभु बैंकले साहुबाट ऋण लिनुपर्ने समस्याको अन्त्य गर्न भन्दै यस योजनाको सुरु गरेको प्रदेश सरकारले जनाएको छ ।
संघीय सरकारले स्वदेशमा रोजगारी सिर्जना गर्ने भन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम, वर्षभरिका लागि ६० दिनेजस्ता विभिन्न कार्यक्रम सन्चालन गर्दै आएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय भने प्रदेश–२ को पछिल्लो कार्यक्रमबारे जानकार देखिँदैन ।
श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरे वैदेशिक रोजगारीमा जानका लागि ऋण उपलब्ध गराउने सरकारको कुनै नीति नै नरहेको बताउँछन् ।
प्रदेश सरकारले वैदेशिक रोजगारीमा जानका लागि ऋण उपलब्ध गराउने कार्यक्रमले स्वदेशमा आत्मनिर्भरतातिर लाग्नेभन्दा पनि पुनः वैदेशिक रोजगारीमा जाने प्रवृत्ति नै मौलाउन सहयोग पुग्ने चिन्ता व्यक्त गर्छन्, श्रमविज्ञ डा. गणेश गुरुङ ।
वैदेशिक रोजगारीमा जानका लागि ऋण दिनुभन्दा पनि सीप विकास गरेर स्वदेशमा स्वरोजगार बन्ने वा विदेशै गएपनि उच्च तहको काममा जान योग्य बनाउने वातावरण तयार गर्नुपर्नेमा विज्ञहरुको जोड छ ।