रातोपोस्ट संवाददाता

काठमाण्डौ। सरकारले कोरोना भाइरसको प्रकोप फैलिएको चीनबाट फर्काउन लागेका नेपालीलाई राख्न ठाउँ खोजिरहेको जनाएको छ । काठमाण्डौसहित भक्तपुर र ललितपुरमा सम्भाव्य ठाउँको खोजी भैरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाण्डौको कीर्तिपुर, ललितपुरको स्टाफ कलेज जावलाखेल र भक्तपुरको खरिपाटीमा रहेको नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र तथा कृषि विकास बैंकको तालिम केन्द्रमा राख्ने गरी छलफल भैरहेको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
कोरोना प्रभावित क्षेत्रबाट ल्याउन लागिएका नेपालीलाई १५ दिन अलग्गै ठाउँमा राखेर भाइरसको संक्रमण नरहेको प्रमाणित भएपछि परिवारको जिम्मा लगाउने सरकारको तयारी छ ।