
बिर्तामोड। झापामा हात्तीपाईले रोग निवारण कार्यक्रम २०७६ अन्तर्गत आम औषधि सेवन अभियान आगामी माघ २५ गतेदेखि सुरु हुने भएको छ ।
नवौं चरणको अभियानमा माघ २५ गतेदेखि १० दिनभित्रमा स्वास्थ्यकर्मीहरुले सबैको घर–घरमा गएर औषधि खुवाउने योजना रहेको स्वास्थ्य कार्यालय झापाले पत्रकार सम्मेलन गरी जनाएको छ ।
आइतबार बिर्तामोडमा आयोजित कार्यक्रमको सहजीकरण गर्दै स्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक जीवन चौंलागाईले अभियान सञ्चालनका लागि स्वास्थ्य कार्यालयबाट ६ सय ३१ जना महिला स्वास्थ्य स्वयमसेवीका र ४ सय १६ जना दक्ष स्वास्थ्यकर्मी खटाइएको बताए ।
उनले जिल्लाभरका पालिकास्तरमा प्रमुख तथा उपप्रमुख र वडास्तरमा वडा प्रमुखबाट सुरुवात गर्दै झापाका सबै स्थानीय तहहरुमा एक साथ औषधि सेवन गराईने अभियानको सम्पूर्ण तयारी पूरा भइसकेको बताए ।
झापामा ५ सय ५४ जनामा हात्तीपाइलेको संक्रमण रहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाको तथ्यांक अनुसार खुट्टा सुन्निएका ७२ जना, हात तथा स्तन सुन्निएका ११० जना र ३७२ जना अण्डकोष सुन्निएका हात्तीपाइलेका संक्रमित छन् ।
मानिसलाई शारीरिक रुपमा अपांगता बनाउने कुष्ठ रोगपछि सबैभन्दा ठूलो रोग हात्तीपाइले एक प्रकारको भयानक रोग भएकाले यो रोग मानिसलाई लागेपछि शारीरिक रपमा अशक्त, असमर्थ तथा अपाङ्गता बनाउने गरेको छ ।
यो रोग एक प्रकारको सरुवा रोग हो, जुन मसिनो धागो आकारको परजीविबाट संक्रमण भएको क्युलेक्स जातको पोथि लामखुट्टेको टोकाईबाट लाग्ने गरेको तथा जुनसुकै उमेर समूहका मानिसलाई समेत लाग्ने गरेकाले लामखुट्टेको टोकाईका कारण सर्ने भएकाले विशेष गरेर केटाकेटीहरु बढी जोखिममा पर्नसक्ने स्वास्थ्य कार्यालय भापाले जनाएको छ ।
स्वास्थ्य कार्यालय झापाका निमित्त कार्यालय प्रमुख इश्वरीप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्वागत कार्यक्रम अधिकृत वेदप्रकाश घिमिरेले गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ प्रदेश सदस्य तीर्थ सिग्देलले मन्तव्य राखेका थिए ।