
झापा। मिडियाको गाडी दुरुपयोग गरेर तस्करीका सामान घर लगेको आरोप लागेका ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक सुवास खनाल छानविनको घेरामा परेका छन् ।
प्रदेश प्रहरी कार्यालयको निर्देशन पछि जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक खनालमाथि छानविन शुरु गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले डीएसपी महेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा छानविन समिति गठन गरेको बताए ।
छानविन समितिको प्रतिवेदन आएपछि सार्वजनिक गरिने एसपी कोइरालाले जानकारी दिएका छन् ।
प्रहरी निरीक्षक खनालले पत्रिका बोक्ने सवारीसाधन प्रयोग गरी तस्करीका जफत सामान घर लैजाने गरेको घटनाको समाचार अनुसन्धान मिडियाका खोजकर्ता खगेन्द्र घिमिरेले सार्वजनिक गरेपछि प्रहरीले छानविन समिति गठन गरेको हो ।
इन्स्पेक्टर खनालले अवैध भन्दै जफत गरेका सरसामान घर पठाउन लागेको अवस्थामा फेला परेपछि यस्तो घटना बाहिरिएको हो ।
सामान घर लैजान उनले नयाँ पत्रिकाको को २ च १४१५ नम्बरको मारुती भ्यान प्रयोग गरेका थिए । सो गाडी हाल प्रहरीले नियन्त्रणमा लिएको छ ।
सो गाडीलाई मेचीनगर–७ स्थित जोरसिमलमा सशस्त्र प्रहरीले चेकचाँजको क्रममा रोक्दा ती गाडीका चालक कृष्ण धिमाल भएको खुलेको थियो ।
गाडी चालक इन्स्पेक्टर खनालका छिमेकी हुन् । सामान ओसारपसारमा नयाँपत्रिकाको गाडी प्रयोग गरिएको देखिएको छ ।
नयाँपत्रिकाका सुजन खतिवडाले सो गाडी भाडामा लिएको हुँदा चालकलाई कारबाही गरिने बताए । गाडीसँग सम्झौता तोडेर अर्को नयाँ गाडी पठाइने उनले दावी गरे ।
‘प्रहरीले मिडिया हाउसलाई प्रयोग गरेर बदनाम गराउन खोजेको हुँदा यसमा मिडिया गृह गम्भीर छ’ उनले भने । इन्स्पेक्टर खनालले विगत एक वर्षदेखि अवैध सामान जफत गरी सामान आफै लाने गरेको आरोप छ ।
ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी राजेन्द्र पोखरेलले जिल्ला प्रहरी कार्यालयले छानविन गरिरहेको बताए ।
उनले नयाँपत्रिका बोक्ने चालक खनालका छिमेकी भएको बताए । आइतबार खनालले घर लान उक्त गाडीमा हालिएको मार्वल लगायतका सामान खरिद गरेको डीएसपी पोखरेलले बताए । ती सामान भन्सार बुझाएर घर लान खोजेको उनको दावी छ ।