News Portal

  • गाउँपालिका अध्यक्ष कुटपिटको जिम्मा ‘विप्लव’ नेकपाले लियो

    रातोपोस्ट संवाददाता
    ५६० पटक

    डडेल्धुराः नेपाल कम्युनिस्ट पार्टी नेकपाका आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अपहरण गरी निर्घात कुटपिट गरेको घटनाको जिम्मेवारी सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको छ।

    गत शुक्रबार अध्यक्ष जोशीलाई अपहरण गरी निर्घात कुटपिट गरेर गम्भीर घाइते बनाइएको थियो। आलिताल गाउँपालिका ३ को वडा बैठकमा सहभागी हुनका लागि बैठकस्थलतर्फ जानेक्रममा उनलाई अपहरण गरी कुटपिट गरिएको थियो।

    पार्टी जिल्ला सेक्रेटरी विजयले एक प्रेस विज्ञप्ति जारी गर्दै अपहरण र कुटपिट आफूहरूले गरेको जानकारी दिएका हुन्। ‘विप्लव’ समूहले उक्त घटनालाई ‘सांकेतिक कारबाही गरिएको’ भनेको छ। जोशीले आलितालको मडेलाखोला र खेलकुद मैदान निर्माणका साथै अन्य थुप्रै योजना समेत भ्रष्टाचार गरेको, योजनाको अन्तिम भुक्तानी हुँदा समेत मजदुरलाई पारिश्रमिक नदिएको, समाजमा भ्रष्टाचार गरी विकृति मच्चाएको आरोप ‘विप्लव’ समूहले लगाएको छ।

    नेपाल कम्युनिस्ट पार्टीविरुद्ध सिआइडी-सुराकी गरेकाले जोशीलाई चेतावनी स्वरूप पार्टीले ‘सांकेतिक कारबाही गरिएको’ पार्टी जिल्ला सेक्रेटरी विजयद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

    आलिताल तालभन्दा करिब पाँचसय मिटरमाथि चौर वण्डले भन्ने स्थानमा १०/१२ जनाको मुकुण्डो धारी समूहले जोशीमाथि अपहरण र कुटपिट गरी गम्भीर घाइते बनाएको थियो। उनको खुट्टा भाँचिएको छ भने टाउको र हातमा गम्भीर चोट लागेको छ।

    उनलाई एम्बुलेन्समार्फत धनगढी लगिएको थियो। र, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई संघीय राजधानी काठमाडौं लगिएको छ। उनको हाल काठमाडौंमा उपचार भइरहेको छ।

    जोशी सवार से ६ प ७९२६ नम्बरको मोटरसाइकलमा तोडफोडा तथा आगजनीको समेत प्रयास गरिएको थियो। जोशीसँगै मोटरसाइकमा सवार नेकपा आलिताल गाउँपालिका कमिटी सदस्य चित्रा बोहरा भागेर अपहरण र कुटपिटबाट जोगिएकी थिइन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)