News Portal

काँकरभिट्टामा सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरण र शान्ति सुरक्षा विषयमा अन्तक्र्रिया कार्यक्रम

रातोपोस्ट संवाददाता
१६२९ पटक

झापा। जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्णप्रसाद कोइरालाले अपराधपछि अनुसन्धान थाल्नुभन्दा पनि आपराधिक घटना हुन नदिन प्रहरी संगठन प्रयासरत् रहेको बताएका छन् ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मंगलबा (आज )आयोजना गरेको ‘सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरण र शान्ति सुरक्षा’ विषयक अन्तक्र्रियामा उनले यस्तो बताएका हुन् ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मेचीनगर नगरपालिकासँगको सहकार्यमा भएको अन्तक्र्रियामा प्रमुख अतिथि एसपी कोइरालाले भने–‘तर, अपराधजन्य घटना हुनै नदिन समुदायको भरपुर सहयोग चाहिन्छ ।’

कार्यक्रममा प्रहरी उपरीक्षक कोइरालाले अपराधका घटना भएपछि अनुसन्धान प्रक्रिया सुरु गर्ने प्रहरीको परम्परागत शैलीमा क्रमशः परिमार्जन हुँदै गएको बताए ।

प्रहरीले उपलब्ध स्रोत र साधनको समुचित उपयोग गर्दै समाजमा शान्ति, सुव्यवस्था एवं अमनचयन कायम राख्न प्रयत्नशील रहँदै आएको उनको भनाई थियो ।

काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा आयोजित कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले अपराधमुक्त समाज निर्माणका लागि असल कामलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिईन् ।

‘असल कामलाई बढावा दिन बर्दीसहितका मात्र नभई बर्दीरहितका प्रहरी पनि उत्तिकै जिम्मेवार बन्नसक्नुपर्छ’–उनले भनिन् ।

सो अवसरमा मेची भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माले सीमा क्षेत्रबाट हुने आर्थिक अपराध रोक्न सीमा नाकामा ड्रोन क्यामराको आवश्यकता औंल्याए ।

खुल्ला सीमाना भन्सारका लागि चुनौतिको विषय बनेको चर्चा गर्दै उनले मान्छेको निगरानीबाट मात्र आर्थिक अपराध नियन्त्रण गर्न कठिन हुने बताए ।

त्यस्तै, कार्यक्रममा सभापति एवं मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले कानुनको अज्ञानता, चेतनाको अभावका कारण तुलनात्मक रुपमा सीमा क्षेत्रमा अपराधका घटना बढी हुँदै आएको बताए ।

अपराधको ट्रान्जिट पोइन्ट बनेका सीमा क्षेत्रमा चेकजाँचका सामग्री डिजिटल प्रविधिको हुनुपर्ने र निगरानी प्रभावकारी बनाइनुपर्ने उनको भनाई थियो ।

त्यसक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतको आतिथ्यता थियो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी राजेन्द्र पोखरेलले स्वागतसहित औचित्य बारे प्रकाश पारेको सो कार्यक्रमको सञ्चालन मेची सामुदायिक सेवा केन्द्रका महासचिव गंगा कोइरालाले गरेका थिए ।

शान्तिपूर्ण एवं सुरक्षित समाज निर्माणका लागि नेपाल प्रहरीले ‘हर प्रहर, गाउँ र नगरी, टोल–टोलमा नेपाल प्रहरी’ भन्ने मूल उद्घोषसहित स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग समन्वय गरी अभियान सञ्चालन गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्