News Portal

ललिता निवास जग्गा प्रकरण : बाबुराम भन्छन्-नियत खराब जस्तो देखिन्छ

रातोपोस्ट संवाददाता
५९३ पटक

काठमाडौं। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ललिता निवास प्रकरण छानविनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियत खराब देखिएको प्रतिक्रिया दिएका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण विहीबारको प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संघीय ससंद भवन परिसरमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले अख्तियारको छानविन प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन प्रक्रियामा नै त्रुटि रहेको र भागवण्डाका आधारमा जानेहरुले निष्पक्ष अनुसन्धान गर्न नसक्ने तर्क उनले गरे। जग्गा फिर्ता गर्छु भनेकाले मुद्दा नचलाइएको भन्ने सन्दर्भमा उनले ‘कसैले चोर्‍यो म फिर्ता गर्छु भनेर छाड्न हुन्छ?’ भनी प्रश्न गरे।

उनले भने, ‘अख्तियार दुरुपयोग आयोग गठन प्रक्रिया नै त्रुटिपूर्ण छ। कर्मचारी मध्येबाट भागवण्डामा मान्छे नियुक्त हुन्छन्। उनीहरु निष्पक्ष ढंगले अनुसन्धान गरी मुद्दा चलाउन पनि सक्दैनन्। हाम्रा ऐन कानुन यति प्रक्रियामुखी छन् कि परिणाममा जानुभन्दा नि प्रक्रिया पुर्‍याउँदै गएर परिबन्धले साधु र कुनै गल्ती नगरेको मान्छे फस्ने र जसले बदमासी गरेको छ त्यसले प्रक्रिया पूरा गरेर उम्कने। यस्तो नियम कानुनको पनि समस्या छ। ललिता निवास प्रकरणमा नियत खराब जस्तो पनि देखिन्छ। केही मान्छेले मुक्ति पाउने, कसैले चोर्‍यो, म फिर्ता गर्छु भनेर पछि छोड्नुहुन्छ?”

त्यसैगरी नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले राजनीतिक पुर्वाग्रहयुक्त अख्तियारको कदम विरुद्ध जनता समक्ष जानुको साथै कानूनी रुपमा पनि अघि बढ्ने बताए।

मन्त्रीपरिषद्का निर्णयहरु प्रधानमन्त्रीको स्वीकृतिमा नै पारित हुने भएकाले विभागिय मन्त्री मात्रै ती निर्णयको जवाफदेही नभई प्रधानमन्त्री स्वयम् हुने भन्दै उनले प्रधानमन्त्रीलाई उन्मुक्ति दिएर विभागिय मन्त्रीलाई मात्रै मुद्दा दर्ता गर्नुले राजनीतिर्क पुर्वाग्रह देखिएको बताए।

उनले भने, ‘मन्त्रीपरिषद्का निर्णयहरु प्रधानमन्त्रीको स्वीकृतिमा नै पारित हुन्छन् । प्रधानमन्त्रीलाई उन्मुक्ति दिइएको छ । तर मन्त्रीलाई मुद्दा चलाइएको छ। जमिन प्राप्त गरेकालाई उनले जग्गा फिर्ता गरे त्यसकारण उनलाई मुद्दा लगाइएन भनेको छ। त्यसकारण पुर्वाग्रहयुत्त छ भन्ने ठहर छ । यसविरुद्ध जनता समक्ष जान्छौ। कानुनी रुपमा पनि जान्छौँ।’

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)