News Portal

काँकरभिट्टामा एशियन ग्रामिण महोत्सवको तयारी तीव्र

डम्बर बराल
६११ पटक

झापा। पूर्वी नेपालको प्रवेशद्धार काँकरभिट्टामा आयोजना हुने छैटौं एशियन ग्रामिण पर्यटन महोत्सवको तयारी तीव्र पारिएको छ ।

छैटौं एशियन ग्रामिण पर्यटन महोत्सव मूल समारोह समितिको आयोजनामा आगामी माघ २६ गतेदेखि आयोजना हुने महोत्सवमा ५० हजार पर्यटकले अवलोकन गर्ने आयोजक समितिका संयोजक अर्जुन कार्कीले बताए ।

पर्यटन भ्रमण वर्ष २०२० लाई सफल पार्न महोत्सवले ठूलो भूमिका खेल्ने भन्दै संयोजक कार्की भन्छन्–‘पर्यटन प्रवद्र्धन गर्नु हाम्रो मुख्य उद्देश्य हो, महोत्सवमा भूटान, भारत र नेपालको प्रदेश नम्बर १ अन्तर्गतका १४ वटै जिल्लाका पर्यटकहरुको उपस्थिति रहनेछ ।’

महोत्सवमा प्रदेशभर रहेका विभिन्न जातजातिका जातिय पहिचान र संस्कृति झल्काउने स्टल तथा कार्यक्रम रहने उनले जानकारी दिए । कार्कीका अनुसार १० वटा स्टल भारत र भूटानका रहने र बाँकी नेपालका रहनेछन् ।

महोत्सवको अवसरमा नेपाल, भारत र भूटानमा क्रियाशील होम स्टेहरुको छाता संगठन होम स्टे कँग्रेस गठन गरिने आयोजकले जनाएको छ । योसँगै विभिन्न देशका रंगकर्मीहरुले विभिन्न जातजातिको संस्कृति झल्कने चित्र समेत बनाउने छन् । आयोजकले पर्यटकसँग गर्ने व्यवहार तथा पर्यटन सम्बन्धी साहित्य गोष्ठि तथा सम्भाषण समेत आयोजना गर्ने कार्यक्रम रहेको उनको भनाई छ ।

सन् २०१२ देखि बाहुनडाँगीलाई केन्द्र बनाएर एशियन ग्रामिण पर्यटन महोत्सवको पाँचौं संस्करण बाहुनडाँगीमा सम्पन्न भईसकेको र सरकारले भ्रमण वर्ष २०२० घोषणा गरेकाले भ्रमण वर्षलाई सफल पार्ने मूल उद्देश्यले पनि यसपटक मेचीनगरको काँकरभिट्टामा महोत्सवको तयारी गरिएको ग्रीन जेनेरेशनका अध्यक्ष समेत रहेका महोत्सवका संयोजक कार्की बताउँछन् ।

महोत्सवलाई सफल पार्न ५१ सदस्यीय महोत्सव मूल आयोजक समिति निर्माण गरेर समितिले विभागीय कामलाई तीव्र पारेको जनाएको छ । महोत्सव सफल पार्न समितिले प्रचारलाई विभिन्न माध्यमबाट तीव्रता दिएको प्रचार–प्रसार उपसमितिका संयोजक राजु पौडेलले जानकारी दिए ।

समितिले नेपाल, भारत र भूटानमा समेत प्रचार गरिरहेको र अपेक्षा गरिएभन्दा बढी मानिस आउन सक्ने उनको भनाई छ ।

महोत्सवका प्रवक्ता नवराज प्रधान भन्छन्–‘पर्यटन प्रवद्र्धनसँगै आम सहभागीका लागि मनोरञ्जन प्रदान गर्ने उद्देश्यसहित महोत्सवको तयारीमा जुटेका छौं ।’

सो महोत्सवको उद्घाटन प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले गर्ने छन् भने छिमेकी मुलुक भारतको सिक्किमका राज्यका मुख्यमन्त्री पी.एस गोले विशेष अतिथि रहने कार्यक्रम तय भएको छ ।

महोत्सवले पूर्वी नेपालका विभिन्न पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रसार तथा पर्यटन भ्रमण वर्षलाई सफल पार्न ठूलो सहयोग पुग्ने आयोजक समितिका सचिव भूपाल शिवाकोटी बताउँछन् । उनी भन्छन्–‘महोत्सवको बहानामा आर्थिक संकलन गर्ने परम्परालाई तोडेर हामी तयारीमा जुटेको छौं, यहाँ स्टल राख्न र प्रवेश शुल्क लिने योजना छैन, सबै निःशुल्क हुनेछ ।’

‘प्रकृति र संस्कृति पर्यटनको सम्पत्ति’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको महोत्सवमा ५२ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकको पूर्वानुमान छ । महोत्सवका लागि संघीय सरकारबाट २० लाख, प्रदेश सरकारबाट १५ लाख र स्थानीय सरकारबाट १० तथा अन्य सहयोगीहरुबाट बाँकी रकम ब्यवस्थापन गर्ने गरी बजेट तयारी गरिएको समितिका कोषाध्यक्ष सुरेन्द्र बुढाथोकीले जानकारी दिए ।

महोत्सवमा मनोरञ्जन प्रदान गर्न आयोजकले राँगागाडा, टाँगालगायतको व्यवस्थापन गर्नेछ भने कार्यक्रममा वालन नृत्य, संगीनि, विभिन्न जातिय झाँकी तथा एकल तथा सामूहिक नृत्य प्रस्तुत गर्ने तयारी गरिएको सांस्कृतिक उपसमिति संयोजक अञ्जु थापाले जानकारी दिईन् ।

काँकरभिट्टा बजार क्षेत्रलाई केन्द्र बनाएर आयोजना हुने महोत्सव विभिन्न ठाउँमा लाग्ने छ । समितिले विद्यार्थीहरुलाई मनोरञ्जन प्रदान गर्न ६ नम्बर वडा कार्यालय परिसरमा तारामण्डल र सुपारी लाईन क्षेत्रमा सेल्फी लिने ठाउँको रुपमा विकास गर्ने तयारी गरेको विद्यालय सांस्कृतिक व्यवस्थापन उपसमिति संयोजक सुनिता शर्माले बताईन् ।

प्रतिकृया दिनुहोस्