News Portal

तेस्रो कचनकवल गोल्डकप शुरु, उद्घाटन खेलमा इलाम विजयी

रातोपोस्ट संवाददाता
३५८ पटक

झापा। भ्रमण वर्ष २०२० लाई लक्षित गरी नेपालकै होचो भू-भाग कचनकवलमा तेस्रो कचनकवल गोल्डकप नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।

कचनकवल गाउँपालिका खेलकुद विकास समितिको विशेष सहयोग तथा बनियानी युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन प्रदेश सांसद वसन्त बानिया र ओमप्रकाश सरावगीले गरेका थिए ।

उद्घाटन खेलमा जलथल फुटबल क्लब झापालाई पराजित गर्दै रेड हर्ष फुटबल क्लब इलाम क्वाटरफाइनलमा प्रवेश गरेको छ । जलथललाई २-१ गोलअन्तरले पराजित गर्दै इलाम क्वाटरफाइनलमा प्रवेश गरेको हो ।खेलको पहिलो हाफको २६औ मिनेटमा इलामका किस्मत राईले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

दोस्रो हाफको ३६औ मिनेटमा राईले थप एक गोल गरे । जलथलका सरोज कार्कीले खेलको ५१औ मिनेटमा एक गोल फर्काएका थिए । खेलको म्यान अफ दी म्याच इलामका किस्मत राई घोषित भए । उनलाई नगद दुई हजारसहित प्रदेश सांसद वसन्त बानियाँले पुरस्कृत गरेका थिए ।बनियानी युवा क्लबका अध्यक्ष हरि बस्नेतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश सांसद बानिया, ओमप्रकाश सरावगी, गाउँपालिकाकी उपाध्यक्ष निमसरी राजवंशी लगायतले मन्तव्य राखेका थिए ।

स्वागत मन्तव्य क्लबका सल्लाहकार संयोजक रत्नबहादुर बुढाथोकीले राखेको कार्यक्रमको सञ्चालन क्लबका सचिव शिव गुरुङले गरेका थिए ।फागुन ५ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगिताको विजेता टिमलाई नगद एक लाख ५० हजार र उपविजेता टिमलाई एक लाख नगद पुरस्कारसहित विभिन्न विधामा पुरस्कार वितरण गरिने जनाइएको छ ।

प्रतियोगिता सम्पन्न गर्न १६ लाख ५ सय अनुमानित बजेट रहेकोमा लागि प्रदेश १ सरकारअन्तर्गत प्रदेश सांसद कोषबाट वसन्त बानियाँले चार लाख २५ हजार, कचनकवल गाउँपालिकाले तीन लाख, बाँकी रकम विभिन्न दाता र टिकटबाट सङ्कलन गरिनेछ ।

भ्रमण बर्षलाई सफल बनाउन गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्