News Portal

चर्च ब्वाइज कचनकवल गोल्डकपको क्वाटरफाइनलमा

रातोपोस्ट संवाददाता
८०८ पटक

भद्रपुर। चर्च ब्वाइज युनाइटेड ललितपुर तेस्रो कचनकवल गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइलनमा प्रवेश गरेको छ ।
कचनकवल ६ स्थित बनियानी खेल मैदानमा मङ्गलवार भएको खेलमा भारतको मानेभञ्ज्याङ फुटबल क्लबलाई २-१ गोलले चर्च व्याइज क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पहिलो हाफको १७औ मिनेटमा चर्च ब्वाइजका सानुका सुब्बाले सानदार गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको २०औँ मिनेटमा मानेभञ्ज्याङका दिनेश लिम्बुले गोल फर्काउँदै खेल बराबरीमा ल्याए ।एक-एक गोलले खेल बराबरी रहेको बेला चर्च ब्वाइजका मिलन राईले २३औँ मिनेटमा गोल गरेर जीत पक्का गरे ।

दोस्रो हाफमा मानेभञ्ज्याङले गोल फर्काउने थुप्रै अवसर गुमाएको थियो ।खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका मिलन राई घोषित भए । उनलाई नगद दुई हजारसहित गाउँपालिकाका योजना शाखा अधिकृत केशव मैनालीले पुरस्कृत गरेका थिए ।

बुधबार उर्लाबारी फुटबल क्लब मोरङ र युनाइटेड फुटबल क्लब दार्जिलिङ भारतबीच हुने क्लबका सल्लाहकार संयोजक रत्नबहादुर बुढाथोकीले जानकारी दिए ।

कचनकवल गाउँपालिका खेलकुद विकास समितिको विशेष सहयोग तथा बनियानी युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगिता फागुन ५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी आठ टिमले सहभागिता जनाएको छ । प्रतियोगितामा विजेता टिमलाई नगद एक लाख ५० हजार र उपविजेता टिमलाई एक लाख नगद पुरस्कारसहित विभिन्न विधामा पुरस्कार वितरण गरिने जनाइएको छ ।

भ्रमण वर्ष २०२० लाई लक्षित गरी नेपालकै होचो भूभाग कचनकवलमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्