
झापा । अर्जुनधारा–१०स्थित कालिका शिशु सदन अँग्रेजी माध्यमिक विद्यालयको २०औं वार्षिकोत्सव विविध कार्यक्रम गर्दै मंगलबार सम्पन्न भएको छ ।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत एवम् सम्मान गरिएको थियो । यसरी पुरस्कृत हुनेहरुमा वर्ष उत्कृष्ट विद्यार्थी कक्षा–५ का राहुल रिजाल, अनुशासनतर्फ कक्षा–९ का सलोन तिम्सिना र सरसफाई तर्फ कक्षा–४ की मानसी थापा रहेका छन् ।
त्यसैगरि गत शैक्षिक वर्षमा विद्यालय प्रथम हुने राजिप चिमरिया, द्वितीय हुने सुजय तामाङ र तृतीय हुने लिरोन मुखिया, नियमित विद्यालय आउने प्रगति कार्की, सौगात बराल र सिर्जना भट्टराई रहेका छन् ।
त्यस्तै विद्यालयका कप्तान सुमन कार्की र उपकप्तान कुञ्जना उप्रेतीसँगै गत वर्षको एसईई परीक्षामा उत्र्तीण हुने विद्यार्थीहरुलाई पनि कार्यक्रममा सम्मानित गरिएको थियो ।
कक्षा–९ मा अध्धयनरत् विद्यार्थीद्वय सलोन तिम्सिना र सुमन कार्कीद्वारा लिखित एवम् निर्देशन गरिएको नाटक ‘सञ्जालका सम्भावना’ मञ्चन गरिएको कार्यक्रममा विद्यार्थीहरुले गीत,र नृत्य प्रस्तुत गरेका थिए ।
विद्यालयका संस्थापक प्रधानाध्यापक मोहन सुब्बाको अध्यक्षता र प्याब्सन प्रदेश १ का उपाध्यक्ष मिलनकुमार ढुंगानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत शिक्षक मिनु बिमलीले गरेकी थिइन् ।
संस्थापक प्रधानाध्यापक सुब्बाले विद्यालयको वर्तमान गतिविधि र भावी रणनीतिबारे जानकारी गराएको कार्यक्रममा अर्जुनधारा–१० वडा समितिका अध्यक्ष बलदेवसिंह गोम्देन, नगर प्याब्सनका अध्यक्ष रुद्रप्रसाद सिटौला, कालिका बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर तामाङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
औपचारिक कार्यक्रमको सञ्चालन विद्यालयका परीक्षा नियन्त्रक आरके महतरा र सांस्कृतिक कार्यक्रमको सञ्चालन विद्यार्थीद्वय सलोन तिम्सिना र सुमन कार्कीले गरेका थिए ।