News Portal

मेचीनगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

रातोपोस्ट संवाददाता
९१८ पटक

झापा। मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले खेलकुदले सबै वर्ग र क्षेत्रलाई एकताको सूत्रमा बाँध्ने बताएका छन् । १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद अन्तर्गत मेचीनगरस्तरीय छनौट प्रतियोगिताको शनिबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि आचार्यले भने–‘विभिन्न कारणले गुमनाम हुन पुगेका देशहरु पनि खेलका माध्यमबाट चर्चित बनेका छन् ।’ विभिन्न खेल विधाका उत्कृष्ट खेलाडी र प्रशिक्षक जन्माएको मेचीनगर खेलकुदको उर्वरभूमि रहेको कार्यक्रममा उनले बताए ।

नगर प्रमुख आचार्यले थपे–‘प्रभावकारी प्रशिक्षण र अत्यावश्यक खेल सामग्रीको अभाव हुँदा हुँदै पनि प्रशिक्षक र खेलाडीले खेलको गरिमा उच्च राखेका छन् ।’ विद्यालयलाई खेलाडी उत्पादनको उद्गमस्थलका रुपमा अथ्र्याउँदै उनले नगरबाट छानिएर जिल्लामा प्रतिष्पर्धा गर्ने खेलाडीहरुका लागि आवश्यक सहयोग गर्न नगर सरकार प्रतिबद्ध रहेको बताए ।

मेचीनगर सामाजिक विकास समिति संयोजक नवीन बराल

प्रतियोगिता उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि मेचीनगर सामाजिक विकास समिति संयोजक नवीन बरालले खेलको नियम र अनुशासनलाई आत्मसात् गरी छनौट प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउनुपर्नेमा जोड दिए । मेचीनगर ४ का वडा अध्यक्ष समेत रहेका उनले विगतमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धुलाबारी माविले हाँसिल गर्दै आएको विरासतलाई कायम राख्न आग्रह गरे ।

प्रतियोगितामा भाग लिएका नगरका विद्यार्थीहरुलाई उच्च मनोबलका साथ खेल प्रदर्शन गर्न अनुरोध गर्दै बरालले जिल्लास्तरीय छनौटमा उत्कृष्ट हुँदै नगरको गरिमा जोगाउन अपिल गरे ।

त्यस्तै, नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले विद्यार्थीको खेल सम्बन्धी कला प्रस्फुटन गराउन गौरवमय प्रतियोगिता राष्ट्रपति रनिङ शिल्डको भूमिका महत्वपूर्ण रहँदै आएको बताए ।

‘विद्यार्थीको चौतर्फि वृत्ति विकासमा खेलकुद प्रतियोगिताले सघाउ पुर्याउँदै आएको छ’ उनले भने–‘ मेचीनगरले विगतमा आर्जन गरेको वैभवशाली इतिहासले यसवर्ष पनि निरन्तरता पाउनेमा विश्वस्त छु ।’

मेचीनगर २ स्थित मेची जनसाधारण माविको खेलमैदानमा सुरु प्रतियोगिताको उद्घाटन सत्रमा मेचीनगर १ का वडा अध्यक्ष पासाङ तामाङ, २ का वडा अध्यक्ष तिलक न्यौपाने, जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष गणेशविक्रम नेम्बाङ, भलिबल संघ प्रदेश १ का महासचिव लेखनाथ पराजुली, करातेका वरिष्ठ प्रशिक्षक कालु मेचेको आतिथ्यता थियो ।

त्यस्तै, मेचीनगरका पूर्व स्रोत व्यक्ति लोकबहादुर दाहाल, नेपाल शिक्षक महासंघ मेचीनगर अध्यक्ष केशव पौडेल, महासंघ पूर्व जिल्ला अध्यक्ष तेजप्रसाद चौंलागाईं, महासंघ झापा सचिव तोयानाथ दाहाल, शिक्षक संघ नगर अध्यक्ष होमराज ढकाल, शिक्षक संगठन नगर अध्यक्ष लम्बोधर पौडेल, देवी माविका सहायक प्रधानाध्यापक लिलाप्रसाद भण्डारी, प्याब्सन नगर अध्यक्ष डम्बर रुचाल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीमलाल काफ्ले, पूर्व विद्यार्थी समाजका अध्यक्ष हरिचरण चौंलागाईंलगायतको आतिथ्यता थियो ।

प्रमुख अतिथि नगर प्रमुख आचार्यबाट भलिबल प्रशिक्षक हेमा थापालाई भलिबल, शिक्षक देवराज गिरीलाई ट्रयाकको ब्याटन र कराते प्रशिक्षक बद्री विष्टलाई गि हस्तान्तरण गरी उद्घाटन गरिएको प्रतियागितामा कराते खेलाडीहरुले काता प्रदर्शन गरेका थिए ।

मेचीनगर शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना तथा मेची जनसाधारण माविको संयोजनमा सुरु तीन दिवशीय प्रतियोगितामा नगरका ५२ वटा विद्यालयले सहभागिता जनाएका छन् ।
प्रतियोगिता सञ्चालन समिति सदस्य नमूना निरौलाका अनुसार नगरस्तरीय छनौट प्रतियोगितामा ट्रयाकतर्फ ९, फिल्डतर्फ ७ र करातेतर्फ ६ वटा खेलहरु हुनेछन् ।

प्रतियोगिता सञ्चालन समितिका संयोजक विक्रम क्षेत्रीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत समितिका सदस्य सचिव एवं मेची जनसाधारण माविका प्रधानाध्यापक चन्द्रशेखर गुरागाईं र सञ्चालन शिक्षक पुष्कर ढकालले गरेका थिए ।

यसैबीच, सोमबार समापन हुने प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा ८ सय मिटर दौडको छात्रातर्फ धुलाबारी माविकी सन्ध्या शर्मा प्रथम, पवित्रा माविकी रेजिना तामाङ दोस्रो र इष्ट होराइजन माविकी सविना राय तेस्रो भईन् । त्यस्तै, छात्रतर्फ शहिद दशरथ चन्द माविका लाजेहाङ थेवे प्रथम, धुलाबारी माविका भूपेन्द्र राई द्धितीय र विद्या विकास एकाडेमीका विप्लव श्रेष्ठ तृतीय बने ।

प्रतिकृया दिनुहोस्